नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका हुन् ।
राजीनामाको कारण व्यक्तिगत रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले बताए । उनको राजीनामा प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ ।
गृहले राजीनामा स्वीकृत गरेपछि राजीनामाको औपचारिक प्रक्रिया पूरा हुन्छ । रानाभाट १८ साउन २०५८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनी २०८२ साउनमा एसएसपीमा बढुवा भएका थिए ।
एसएसपी रानाभाटले राजीनामा कारण पारिवारिक रहेको बताए । ‘मेरो राजीनामा विशुद्ध रूपमा व्यक्तिगत हो, केही पारिवारिक काम छन्,’ उनले भने, ‘अन्यत्रसमेत काम गर्ने अवसर लिन सकिन्छ ।’
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार
