२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

तीन महिनामा साढे ७९ करोडको सिमेन्ट निर्यात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक १२ गते बुधबार

चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा सिमेन्टको निर्यात ह्वात्तै वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा सिमेन्टको निर्यात ६१.४२ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यो अवधिमा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको तीन लाख ५९ हजार ६२ टन सिमेन्ट निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा ४९ करोड २४ लाख रुपैयाँ बराबरको दुई लाख ४१ ह्जार ४९७ टन निर्यात भएको थियो । बस्तुको आधारमा भने ४८.६८ प्रतिशतले निर्यात बढेको देखिन्छ । चालु आवको साउन महिनादेखि असोज मसान्तसम्म १५ करोड १६ लाख रुपैयाँको ४० हजार २९८ टन क्लिङ्कर र ६४ करोड ३३ लाख रुपैयाँको तीन लाख १८ हजार ७६३ टन पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

उक्त सिमेन्ट सबै भारतमा निर्यात भएको हो । व्यवसायीहरूले यो वृद्धिलाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिएका छन् । गत वर्षको यो समयमा भारतले नेपालको सिमेन्ट सहित बस्तुहरुको आयातमा कडाइ गरेको थियो । गत वर्ष भारतले नेपाली बस्तुहरुको गुणस्तर प्रमाणीकरणमा रोक लगाउँदा सिमेन्टको निर्यात खस्किएको थियो । पछि फेरि गुणस्तर प्रमाणीकरण जारी गर्यो । यसले गर्दा निर्यात वृद्धि भएको देखियो ।

‘यदि गत वर्ष भारतले गुणस्तर प्रमाणीकरण गरेको भए सोही वर्ष नै अहिलेको बराबरी निर्यात हुन्थ्यो,’ एक सिमेन्ट उद्योगीले बताए । तर, पछिल्लो समय विद्युत बक्यौताको विषयलाई लिएर धेरै सिमेन्ट उद्योगमा पनि लाइन काटिएको छ । यसले गर्दा उत्पादन घट्न सक्ने ति व्यवसायीले बताए । उनले भने, ‘भारत निर्यात गरिरहेका सिमेन्ट उद्योगको पनि लाइन काटियो, यसले गर्दा उत्पादनसँगै निर्यात पनि घट्छ । यो समग्र देशको लागि ठूलो दुर्भाग्य हो ।’

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार