अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाक्लो हिमपात भएको छ । गएरातिदेखि ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भइरहेको हो । अहिले बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरु छन् ।
हिमपातसँगै चिसो बढेकाले त्यहाँको जनजीवन प्रभावित भएको छ । तर बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागरमा विकसित न्यून चापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुनेछ ।
यस्तै मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्र लगायत उपल्लो मुस्ताङमा हिमपात भएको छ । वर्षा भएसँगै गएरातिदेखि मुस्ताङमा हिमपात भइरहेको हो । हिमपात भइरहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, याकखर्क क्षेत्र, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने मौसम विभागको प्रक्षेपण छ ।
त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपातसँगै वर्षाको सम्भावना रहेकोले पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमान सम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।
तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जाने ह्वात्तै बढेका छन् । त्यस्तै उत्तरी गोरखाका विभिन्न गाउँहरुमा पानी परेसँगै हिमपात भएको छ । गए रातिदेखि चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हिमपात भइरहेको हो ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो लामाले जानकारी दिए । सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकम लगायतका गाउँ हिउँले ढाकिएका छन् ।
त्यस्तै वडा नं.१ को सामागाउँ, साम्दो, वडा नं.२ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । स्थानीयहरुका अनुसार पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटकहरु सामागाउँ, साम्दोमै रोकिएका छन् ।
सत्यपाटी