२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

असोजमा ३० हजार ५४७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी)का अनुसार यसमध्ये दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ पर्यटक रहेका छन् ।

आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ जना पर्यटक कम आएका छन् । आर्थिक वर्ष २०८१–०८२ को असोजमा ३० हजार ७३२ पर्यटक भित्रिएका थिए भने २०८०–०८१ मा २८ हजार ७०५ जना आएका थिए ।

असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने भएकाले कात्तिकमा पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ । गत कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

तिहारलगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताए । यो याममा विदेशी पर्यटक पदयात्राका लागि आउने गर्छन् भने चाडपर्व र बिदाको समय पर्ने भएकाले आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको छ ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, उपल्लो मुस्ताङ, घोरेपानी, पुनहिल लगायत अन्नपूर्ण फेरोका गन्तव्यस्थलमा यस याममा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने गरेको छ । मुक्तिनाथसहितका धार्मिक गन्तव्यमा जाने भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक ८ गते शनिबार