दशैं नेपाली हिन्दुहरूको महान् पर्व हो, जहाँ आर्शीवादसँगै टिका र दक्षिणा थाप्ने परम्परा छ । प्रायः नेपाली परिवारले यो चाडलाई लक्षित गरेर महिनौँ अगाडिदेखि योजना बनाउन सुरु गर्छन् । घर मर्मतदेखि लत्ताकपडा किन्नेसम्मका प्रमुख खर्चहरू प्रायः यहीँ अवसरका लागि छुट्याइन्छन् ।
तथ्यांकले देखाउँछ, नेपालीहरूको वार्षिक खर्चको ३० देखि ४० प्रतिशत हिस्सा दशैंमै खर्च हुने गर्छ । तर, यदि हामीले भविष्यलाई ध्यानमा राखी खर्चमा थोरै संयम अपनाउन सक्यौँ भने त्यसैबाट बचत भएको रकमलाई लगानीतर्फ मोड्न सकिन्छ ।
विशेषगरी, दशैंमा प्राप्त हुने दक्षिणा रकमलाई मात्र पनि सदुपयोग गर्न सकियो भने यो भविष्यमा ठुलो आधार बन्न सक्छ । शेयर बजार यसका लागि सहज विकल्प हो । सानो रकमबाट सुरु गरेर ठुलो नाफा कमाउने सम्भावना यसमा हुन्छ, तर जोखिम पनि उत्तिकै हुन्छ ।
त्यसैले लगानी गर्नु अघि बजारको आधारभूत जानकारी लिनु आवश्यक छ । अझै पनि सर्वसाधारणमा शेयर सम्बन्धी ज्ञानको कमी रहेकोले अध्ययन–अनुसन्धान नगरी अन्धाधुन्ध लगानी गर्नु हानिकारक हुनसक्छ ।
दसैंपछिका हप्ताहरूमा मात्र ७५ भन्दा बढी कम्पनीका आइपीओ बजारमा आउने तयारीमा छन् । यीमध्ये धेरैमा न्यूनतम १ हजार रुपैयाँमै लगानी सुरु गर्न सकिन्छ । आइपीओ भर्नु सहज माध्यम हो, तर बजार बुझ्नेहरूले शेयर खरिदमार्फत पनि दीर्घकालीन लाभ लिन सक्छन् ।
यसैले, दशैंलाई खर्चिलो पर्वका रूपमा नभई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा पनि हेर्न सकिन्छ । अनावश्यक खर्च घटाएर सानो रकमदेखि सुरु गरिने लगानीले भविष्यमा ठुलो पुँजी निर्माण गर्ने बाटो खोल्नेछ ।
दशैंको दक्षिणा सदुपयोग गर्ने टिप्स
- अनावश्यक खर्च कटौती गर्नुहोस् – लत्ताकपडा वा सजावटमा अत्यधिक खर्च नगरी केही रकम बचत गर्ने बानी बसालौँ ।
- दक्षिणालाई बचतमा राख्नुहोस् – प्राप्त दक्षिणाबाट थोरै हिस्सा छुट्याएर दीर्घकालीन उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ ।
- शेयर बजारमा सानो लगानी सुरु गर्नुहोस् – न्यूनतम १,००० रुपैयाँमै आइपीओ भर्न सकिन्छ, जसले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ ।
- पहिले अध्ययन, पछि लगानी – बजार बुझ्न र सिक्न प्राथमिकता दिनुहोस्, हतारमा लगानी नगर्नुहोस् ।
- जोखिम र प्रतिफल दुवै बुझ्नुहोस् – शेयर बजार छिटो नाफा दिन सक्छ तर घाटा पनि सम्भावना हुन्छ, त्यसैले सजग रहनु जरुरी छ ।
- आइपीओलाई प्राथमिकता दिनुहोस् – दशैंपछिका ७५ भन्दा बढी कम्पनीका आइपीओ आउने भएकाले न्यून जोखिमसहित लगानी गर्ने राम्रो अवसर मिल्छ ।
- दीर्घकालीन दृष्टिकोण राख्नुहोस् – सानो रकमबाट सुरु भएको लगानी भविष्यमा ठुलो पुँजी बन्न सक्छ, त्यसैले निरन्तरता दिनुहोस् ।
सत्यपाटी