२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

घरघरमा दसैँको टीका लगाइँदै, अधिकांशले लगाए साइतमै टीका

आज वडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम चलिरहेको छ । विजयादशमीको अवसरमा आज घरघरमा टीका लगाइँदैछ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

आफूभन्दा ठुला र मान्यजनबाट आजदेखि टीका लगाएर आशीर्वाद लिने गरिन्छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम हुने निर्णय गरेको थियो । सोही समय अनुसार अधिकांशले उत्तम साइतमै घरघरमा टीका लगाएर सुरुवात गरेका छन् ।

साइत खोज्नेहरुले ११ बजेर ५३ मिनेटमा टीका लगाएका छन् । तर आज दिनभर र कोजाग्रत पूर्णीमासम्म टीका लगाउन सकिने धर्मशास्त्रविद् सुर्यप्रसाद ढुंगेलले बताए । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ । अधिकांशले आफ्नै घरमा टीका लगाएपछि अन्य मान्यजनको हातबाट टीका ग्रहण गर्न जाने गर्दछन् ।

दशमीपछि पूर्णिमासम्म दशैँको टीका लगाइने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलावडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइँदैछ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

प्रकाशित मिति : २०८२ असोज १६ गते बिहीबार