२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

खारेज भयो भन्सारको ‘घुँडे बिल’, अब अनलाइन भ्यालुएसन प्रणाली

सत्यपाटीसत्यपाटी । विराटनगर । २०८२ असोज १० गते शुक्रबार

विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस ‘भन्सारमा घुँडे बिल आजदेखि खारिज’ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार विन्दुमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’का आधारमा मालवस्तुको मूल्याङ्कन र जाँचपास गर्न बुधबारदेखि भएको थालनी ।

सरकारले आयात हुने मालवस्तुको भन्सार जाँचपास गर्दा सन्दर्भ मूल्यसूची पुस्तिकाबाट नभई विश्वव्यापी मूल्य प्रणालीका आधारमा वस्तुको जाँचपास गर्ने भएपछि पूर्वका उद्योगीले यसलाई दस वर्षपछि आफ्ना मागको सुनुवाइ भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका राजस्व परामर्श समिति सभापतिसमेत रहेका अग्रवालले लामो समयपछि सरकारले भन्सार विन्दुमा सन्दर्भ मूल्यसूची पुस्तिका विस्थापन गरेर अनलाइन भ्यालुएसन प्रणाली लागु गरेको बताए । उनले यो माग उद्योगीले लामो समयदेखि राख्दै आए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको बताए ।

भन्सार विभागले सन्दर्भ मूल्य पुस्तिका कार्यान्वयन गर्दा वा नगर्दा पनि भन्सार विन्दुमा स्वघोषणा गर्दा घुँडामा लेखेर यति मूल्य भनेर वस्तु जाँचपास गर्नुपर्ने बाध्यता रहेको उनको व्यङ्ग्यात्मक भनाइ छ । बुधबार अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले विराटनगर भन्सार कार्यालयमा यसको शुभारम्भ गरेका थिए ।

त्यसपछि पूर्वका उद्योगीले यसलाई व्यापार सहजीकरणमा सकारात्मक सुधारका रूपमा हेरेका हुन् । सन्दर्भ मूल्य पुस्तिकामा उल्लेख मूल्य र आयात गरिएका वस्तुको मूल्य कहिल्यै पनि मेल नखाने गरेको उद्योगी–व्यापारीको भनाइ छ । सन्दर्भ मूल्य पुस्तिकामा कि त कम कि त बढी मूल्य हुने गरेको अवस्थाबाट अनलाइन हुँदा वास्तविक हुने पैठारीकर्ता बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले अर्थमन्त्री खनालसमक्ष प्रस्तुत गरेको सुझावपत्रमा भन्सार विभागले बढी राजस्व सङ्कलन गर्ने नाममा छुट्टै मूल्याङ्कन पुस्तिकालाई आधार बनाउने परिपाटी खारेज हुनुपर्ने माग सम्बोधन भएको उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणालीको मूल्याङ्कन पद्धति सुरु हुँदा यसले व्यावसायिक वातावरणमा विश्वास बढाएको सुझावपत्रमा उल्लेख छ । अध्यक्ष राउतले यो माग पुरानै भए पनि अहिले कार्यान्वयनमा जानु सकारात्मक भएको बताउँदै यो प्रणालीलाई सफल बनाउन उद्योगी–व्यवसायी सचेत रहेको बताए ।

यसैगरी मोरङ–उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले यसलाई सकारात्मक कदमका रूपमा बुझ्नुपर्ने बताए । उनले अहिले हरेक वस्तुको मूल्य सबैले यकिन गर्न सक्ने परिस्थितिमा पनि सन्दर्भ मूल्य पुस्तिकाको नाममा वस्तुको दर तोक्ने कुरा वैज्ञानिक नहुने धारणा राखे ।

अब अनलाइन भ्यालुएसन प्रणालीमार्फत हुँदा वस्तुको वास्तविक मूल्य भन्सारमै यकिन हुने हुँदा कालोबजारीको समस्यासमेत हल हुने उनको बुझाइ छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बुधबार शुभारम्भ भएको अनलाइन भ्यालुएसन प्रणालीको कार्यान्वयन बिहीबारदेखि नै सुरु भइसकेको जनाए ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार