२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

बाँकेका कारागारबाट भागेका २५९ कैदीबन्दी अझै फरार

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज ६ गते सोमबार
बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तामा रहेको बाल सुधार गृह ।

बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २५९ जना अझै फरार छन् । भागेका मध्ये हालसम्म ८१ जना मात्रै पक्राउ परेको कारागार र बाल सुधारगृहले जनाएका छन् ।

फरार रहेका कैदीबन्दीमध्ये नौबस्ता बालसुधार गृहका ५५ जना, नौबस्ता क्षेत्रीय कारगारका १२२ जना र जयन्दु बालसुधार गृहका ८२ जना रहेको जनाइएको छ । डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले सुधारगृहमा रहेका २२८ जना बालबन्दी मध्ये ११५ जना भागेकोमा ३३ जना पक्राउ परेको र ८२ जनाको खोजी भइरहेको बताए ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७६ जना बालबन्दी मध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकोमा हालसम्म २३ जना मात्र पक्राउ परेको बताए । सो सुधारगृहका ५५ जना बालबन्दीको खोजी भइरहेको छ ।

नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये २५ जना पक्राउ परेको तथा १२२ जनाको खोजी भइरहेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए । उक्त कारागारमा ५८५ जना कैदी थिए । फरार रहेको २५९ जना बालबन्दी र कैदीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जेनजी आन्दोलनको समयमा बाँके लगायत देशभरिकै विभिन्न बालसुधार गृह र कारागारबाट कैदी बन्दी भागेका थिए । तर, नेपालगन्जस्थित कारागारबाट कैदीले भाग्ने प्रयास गरेपनि सेनाको घेराबन्दीका कारण भाग्न सफल भएका थिएनन् । सो क्रममा सेनाले गोली चलाउँदा कैलाली निवासी एकजना कैदीको खुट्टामा गोली लागेको थियो ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार