२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

यसपाली हिले दशैं हुने सम्भावना धेरै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ६ गते सोमबार

प्रक्षेपण गरिए अनुसार मनसुनी गतिविधि भएमा यस वर्ष दशैंमा पानीले रुझ्नुपर्नेछ । सामान्यतः नेपालबाट जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । त्यसैअनुसार यस वर्ष पनि अक्टोबर २ मा मनसुन बाहिरिने अनुमान मौसमविद्हरूको छ । तर, मनसुन भित्रिने र बाहिरिने मिति ढिलोचाँडो पनि भएका दृष्टान्तहरू थुप्रै छन् ।

गत वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो । यद्यपि, यस वर्षको दशैं अगाडि नै परेकाले पानी पर्ने सम्भावना बलियो छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका, मौसमविद्, बिनु महर्जन भन्छिन् ‘मनसुन बाहिरिने औसत मिति अक्टोबर २ लाई मानिन्छ । उक्त दिन टीका पर्छ । यसपटक दशैं अलि अगाडि नै भयो त्यसैले । पानी पर्ने सम्भावना राम्रै छ ।’

महर्जनले थपिन, पूर्वानुमान महाशाखाले प्रायः जसो तीन दिनको मात्रै पूर्वानुमान गर्दै आएको छ । दशैं सोमबारबाट सुरु हुने भए पनि साता दिन पछाडिको मौसमको बारेमा भन्न नसकिने बताइन् । तर, दशैं अगाडि नै परेकाले पानी पर्ने सम्भावना यथावत् रहेको छ । मनसुन बाहिरिने विषयमा पनि महाशाखाले विश्लेषण गरिरहेको उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले घटस्थापनादेखि एक सातासम्म मौसम सक्रिय नदेखिए पनि कतैकतै वर्षा हुने राम्रो सम्भावना रहेको बताएका छन् । उनी भन्छन्, ‘अर्को साता अर्थात् दशैंमा मौसम फेरि सक्रिय हुँदैछ । हिले दशैं हुने सम्भावना धेरै छ ।’

केही वर्षको प्रवृत्ति हेर्दा अक्टोबरको मध्यतिर मनसुन बाहिरिने गरेको छ । त्यसैले मनसुनी गतिविधि हुने हुनाले काठमाडांै बाहिरतिर यात्रा गर्दा होसियार हुनुपर्ने उनीहरूको सुझाव छ । महाशाखाकी मौसमविद्, महर्जनका अनुसार आगामी दुई, तीन दिनसम्म पश्चिममा वर्षाको सम्भावना अलि कम भए पनि अन्य भागमा वर्षाको सम्भावना छ ।

पुनः दुई दिनपछि बंगालको खाडीतिर पानी पार्ने प्रणाली विकसित हुने देखिन्छ । तर दसैँको मौसम कस्तो हुन्छ भन्ने विषयमा महाशाखाले अर्को विज्ञप्ति जारी गरेर जानकारी गराउने बताइन् । गण्डकी र बागमतीको कतिपय स्थानमा अझै पनि भारी वर्षा भइरहेको महर्जनले बताइन् । मनसुनलाई प्रभाव पार्ने धेरै तत्वहरू हुन्छन् ।

विश्व मौसम गतिविधि, तापक्रमजस्ता कारणले मनसुनमा प्रभाव पारेका कारण मनसुन ढिलोचाँडो बाहिरिने हुन्छ गरेको उनले बताइन् । तर मनसुन बाहिरिएपछि पानी नै पर्दैन भन्ने गलत बुझाइ आममानिसमा रहेको पनि बताइन् । उनले भनिन् ‘मनसुन बाहिरिएपछि अक्टोबर, नोभेम्बरमा साइक्लोनहरू विकसित हुने समय भएकाले त्यसको प्रभावले पानी पार्छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार