नेपाल प्राकृतिक विपद्को मानचित्र बनेको छ । बाढी, पहिरो, चट्याङ, आगलागी, भारी वर्षा, सर्पदंशदेखि जनावरको आक्रमणसम्म सबै प्रकारका विपद्ले नेपाली जनजीवनलाई लगातार त्रासमा राखिरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाउँछ, गत वैशाखदेखि हालसम्म देशभर ३ हजार ६८१ विपद्का घटना दर्ता भएका छन् । यी घटनाले ६ हजार ५९० घरपरिवारलाई प्रत्यक्ष प्रभावित बनाएको छ । सो अवधिमा २४३ जनाले ज्यान गुमाएका छन्, ८६९ जना घाइते भएका छन् र २४ जना अझै बेपत्ता छन् ।
आगलागी सबैभन्दा ठूलो खतरा
प्राधिकरणका अनुसार, आगलागी सबैभन्दा बढी हुने विपद् बनेको छ । गत छ महिनामा मात्रै १ हजार २९५ वटा आगलागीका घटना दर्ता भए । यसमा २३ जनाको मृत्यु, १७७ जना घाइते र १ हजार ४११ घरपरिवार प्रभावित भएका छन् । शहरी बस्तीदेखि ग्रामीण गाउँसम्म, आगलागीले मानिसलाई विस्थापित मात्र होइन, क्षणभरमै सारा सम्पत्ति खरानी बनाइदिन्छ ।
प्राणघातक प्राकृतिक प्रकोप बाढीपहिरो
नेपालको भूगोलमै लुकेको अर्को पीडा हो, बाढीपहिरो । यस अवधिमा २६३ वटा बाढीका घटनाले २९ जनाको ज्यान लिएको छ । बाढीमा २३ जना बेपत्ता, १४ जना घाइते र १ हजार ८६१ परिवार प्रभावित भएका छन् । त्यसैगरी, ४६३ वटा पहिरोले २४ जनाको मृत्यु, ४१ घाइते र सयौं परिवारलाई विस्थापित बनाएको छ ।
मनसुनकै प्रभावका कारण ३४० वटा भारी वर्षाका घटना भएका छन् । यसमा ६ जनाको मृत्यु, १४ घाइते र ८११ परिवार प्रभावित भएका छन् । यस्तै, २९० वटा चट्याङका घटना दर्ता हुँदा ३८ जनाको ज्यान गएको छ । चट्याङमा २१२ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन् । ग्रामीण भेगमा खेतमा काम गर्ने किसानदेखि विद्यालयमा अध्ययनरत बालबालिकासम्म चट्याङको शिकार बन्ने गरेका छन् ।
सर्पदंश र जनावर आक्रमण
नेपाली ग्रामीण जीवनमा अर्को लुकेको त्रास हो–सर्प र जंगली जनावर । गत छ महिनामा ३०४ वटा सर्पदंशका घटना दर्ता भएका छन् । यसले ७७ जनाको ज्यान लिएको छ भने २३३ जना घाइते भएका छन् ।
त्यस्तै, २१७ वटा जनावर आक्रमणका घटना भएका छन् । जंगली हात्ती, चितुवा, भालु आदिको आक्रमणमा २० जनाको मृत्यु, ८८ घाइते र ३६६ परिवार प्रभावित भएका छन् । वन डढेलोका १८५ घटनामा दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । यस्तै, २८४ हावाहुरीका घटनाले ८ जनाको मृत्यु, ४४ घाइते र ५४१ परिवार प्रभावित बनाएको छ ।
विपद्सँगको लडाइँ ‘पूर्वसूचना र सचेतना’
यो सबै तथ्यांक केवल संख्या होइन, हजारौं नेपाली परिवारको पीडा र क्षतिले बुनेको यथार्थ हो । हरेक वर्ष जस्तै यस वर्ष पनि विपद्ले प्राण गयो, सम्पत्ति गयो र सयौं परिवार बिस्थापित भए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेका प्रमाण, पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन पहल भइरहेको छ ।
साथै, सचेतना अभियानमार्फत समुदायलाई विपद्बाट जोगिन तयार पार्ने प्रयास भइरहेको छ तर अझै चुनौती भने उस्तै छ, पूर्वतयारीभन्दा बढी विपद् पश्चात्को उद्धार र राहतमा ध्यान केन्द्रित हुने प्रवृत्ति । नेपालजस्तो विपद्–प्रवण मुलुकमा ‘पूर्वसावधानी नै सबैभन्दा ठूलो सुरक्षा’ भन्ने चेतना समाजको प्रत्येक तहसम्म पुग्न सकेमात्र भविष्यमा यो मृत्युको रेखा घटाउन सकिने विशेषज्ञहरूको मत छ ।

