२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

नेपालगन्जमा सुपथ मूल्य पसल सञ्चालनमा, चामल मात्रै बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

नेपालीहरुका ठुला चाडपर्वहरु दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सोमबारबाट कम्पनीको मुख्य शाखा कार्यालय परिसरभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिए ।

सूचना अधिकारी घिमिरेका अनुसार सोमबारबाट सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा सेवाग्राहीहरूले चामलमा छुट पाउने छन् । ‘चाडपर्व लक्षित सुपथ मूल्य पसलमा हामीले चामल मात्र राखेका छौँ, सेवाग्राहीले यहाँबाट चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाउनुहुनेछ,’ उनले भने ।

नेपालगन्जमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा अरुवा मोटा, अरुवा मध्यम र स्टिम जिरा मसिनो चामल बिक्री वितरण हुनेछ । अरुवा मोटाको प्रतिकिलो ६२ रुपैयाँ, अरुवा मध्यमको प्रतिकिलो ६४ र स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ८८ रुपैयाँ मूल्य कायम गरिएको सूचना अधिकारी घिमिरेले बताए ।

सेवाग्राहीहरूले हरेक चामल खरिदमा पाँच रुपैयाँ प्रतिकिलो छुट पाउने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलका लागि २०० क्विन्टल चामल राखिएको सूचना अधिकारी घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार