२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

अर्थमन्त्रीलाई ‘पहिला सचिव फेर्नुस्’ भन्दै झपार्ने को हुन् ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार

नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार शपथलगत्तै पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री खनालले पदभार सम्हालेका हुन् । जेनजी आन्दोलनको दबाबमा बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका खनालले पदभार ग्रहण गर्दै स्पष्ट नीति अवलम्बन गर्ने संकेत दिएका छन् ।

उनले टुक्रे योजनाहरू कार्यान्वयन नगर्ने र राजनीतिक दबाबमा अघि बढाइएका योजनाहरू कटौती गर्ने निर्णय सुनाए । पदभार ग्रहणपछिको कार्यक्रममा मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीहरूसँग उनको औपचारिक परिचय भएको थियो । सोही कार्यक्रममा पर्वतबाट आएका शालिकराम पौडेल पनि सहभागी थिए ।

उमेरले पाका देखिने पौडेल अर्थमन्त्रीका भनाइ शान्तिपूर्वक सुनेर बसेका थिए । खनालले आफ्ना धारणा राखेपछि पौडेल अगाडि बढ्दै मन्त्रीसँग कुरा राख्ने इच्छा व्यक्त गरे । उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘अहिलेकै बजेट ल्याउँदा अर्थसचिव उहाँ (उपाध्याय)नै हो होइन ? देशमा ७७ जिल्ला छन् कि सात वटा मात्रै ? सात वटा जिल्लालाई मात्र बजेट दिएको मान्छेले अहिलेको बजेट टिकाउ कसरी होला ?’

पौडेलको आक्रोश देखेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरे। अर्थमन्त्री खनालले सचिव उपाध्यायतर्फ फर्केर सोधे, ‘उहाँ को हो ?’ सचिव उपाध्यायले जवाफ दिए, ‘खै, मलाई थाहा छैन ।’ त्यसपछि मन्त्री खनालले भने, ‘त्यो म मिलाउँछु, पछि हेरौंला ।’ उनले उक्त विषयमा आवश्यक निर्णय भइसकेको र आफूले आजै त्यसअनुरूप निर्णय लिएको जानकारी पनि दिए । सुरक्षाकर्मीहरूले पौडेललाई बाहिर लैजान खोजे ।

तर उनी आक्रोशित हुँदै भने, ‘हामी पनि आन्दोलन गरेर आएका हौं । तपाईं त्यसै मन्त्री भएको हो र ? हाम्रो पनि कुरा छन् ।’ पौडेलले आफ्ना भनाइ राख्न छाडेनन् । सुरक्षाकर्मीहरूको रोकाइका बीच पनि उनले जोड दिए, ‘पहिला उहाँ (सचिव उपाध्याय) लाई फेर्नुपर्छ । कहिले फेर्ने हो, फेर्नुस् ।’ कार्यक्रम समापनतिर अर्थमन्त्री खनाल उठ्दै पौडेलसँग हात मिलाउँदै नाम सोधे । पौडेलले हात मिलाउँदै जवाफ दिए, ‘शालिकराम पौडेल, पर्वत ।’

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार