२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ३० गते सोमबार
फाइल तस्वीर

सरकारले चाडपर्व लक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन् । कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी–प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने जनाइएको छ ।

कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री सुरु गर्ने छ । विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनो लगायतमा पनि प्रतिकेजी १० रुपैयाँ छुट हुने छ ।

काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन् । कम्पनीका प्रमुुख कार्यकारी अधिकृत रमेश आचार्यले दसैँतिहार, छठ र मागीसम्मका दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य सञ्चालन गरेको जानकारी दिए ।

उनका अनुसार कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था गरिएको छ । खाद्य कम्पनीले चाडपर्वका बेलामा दुई करोड ५२ लाख रुपैयाँ बराबरको खाद्यमा सहुलियत दिएमा सरकारबाट शोधभर्ना पाउन सक्नेछ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुुपथ मूल्य सञ्चालन गर्नेछ । उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा पसल चल्नेछन् ।

कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन प्रतिकेजी दुुई रुपैयाँ, खानेतेल, चामल, चिउरा र पिठो लगायतमा प्रतिकेजी सात रुपैयाँका दरले छुुट दिने जनाएको छ । कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वम्यभुका बिक्री केन्द्रबाट ती वस्तुु छुुटमा उपलब्ध गराउँदैछ । त्योबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तुु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।

उनका अनुसार उपत्यका बाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी छ । कर्पोरेसनका सहुलियत मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीसम्म नुुन, दुुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइनेछ । दुग्ध विकास संस्थान (डिडिसी)ले चाडपर्वमा के कति सहुलियत दिने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी गराएको छ । डिडिसीले पनि विगतका वर्षदेखि नै पनिर, घिउलगायतमा विशेष छुट दिने गरेको थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३० गते सोमबार