२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

मुस्ताङ : जहाँ न कर्फ्यु, न निषेधाज्ञा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ भदौ २७ गते शुक्रबार

देशका विभिन्न स्थानमा कर्फ्यु तथा निषेधाज्ञाका कारण अन्योल छ । तर मुस्ताङको अवस्था सामान्य छ । यहाँ कर्फ्यु र निषेधाज्ञा छैन । बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत सार्वजनिक सवारी साधन नचले पनि निजी सवारीसाधन चलिरहेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत सामान्य छ । यहाँ सुरक्षाको जिम्मा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सम्हालिरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताए । पर्यटकलाई समस्या भइरहेको अवस्थामा तत्काल समन्वय गरेको उनले जानकारी दिए ।

बडादशैँका लागि मुस्ताङबाट स्याउ, भेडाच्याङ्ग्रा लिन पुगेका व्यापारीको चहलपहल छ । बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्णरूपमा ठप्प भएपछि वैकल्पिक मार्ग उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङ स्थित कोरला नाका प्रयोग गरी सामान आउन थालेपछि नाका क्षेत्रमा व्यापारिक चहलपहल बढेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सदरमुकाम जोमसोम रहेको घरपझोङ र थासाङ गाउँपालिकामा होटल तथा पसल खुलेको सहायक प्रमुख जिल्ला अधिकारी परियारले बताए । तर अन्य समयको तुलनामा ग्राहक थोरै मात्र देखिन्छन् ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार