देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनुपर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् । विहीबार अपरान्ह कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले निकै बेरसम्म नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका थिए ।
सुरक्षामा खटिएको नेपाली सेनाले धेरैबेरसम्म सम्झाईबुझाई गर्दा पनि कैदीहरुले उल्टै सेनामाथि आक्रमण गर्ने प्रयास गरेपछि सेनाले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट एक जना कैदीको खुट्टामा गोली लागेको छ । उनलाई एम्बुलेन्समार्फत् उपचारका लागि भेरी अस्पताल लगिएको छ ।
कैदीबन्दीले आगजनी गरेपछि त्यहाँ आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । कारागारमा अहिले सेनाको नेतृत्वमा शसस्त्र र नेपाल प्रहरी गरेर धेरै ठुलो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित छन् । उनीहरुले कारागारलाई चारैतिरबाट घेरेका छन् । अवस्था नियन्त्रणमा आए पनि तनावग्रस्त रहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।
यसैबीच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरेको छ । विहीबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसअघि हिजो मात्रै बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार किशोर कैदीहरूले गेट तोडेर भाग्ने प्रयास गर्दा झडप भएको थियो ।
उक्त कारागारमा रहेका ५८५ कैदीबन्दीमध्ये १४९ र बाल सुधार गृहबाट ७६ जना फरार भएका छन् । लगातार दुई दिनदेखि देखिएको अशान्तिले बाँकेका कारागार तथा सुधार गृह क्षेत्र तनावग्रस्त बनेका छन् ।
