२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

बुढानिलकण्ठको देउवा निवासका तीन वटा कोठामा कति थियो पैसा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २६ गते बिहीबार

पाँच पटकका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको बुढानिलकण्ठ निवासमा ठूलो मात्रमा नष्ट भएका नेपाली रकम फेला परेको छ । बुढानिलकण्ठ नगरपालिका–१ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो ।

आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते अवस्थामा उद्धार गरेको थियो । मंगलबार दिउँसो लगाइएको आगो राति कम भएको र रातभर तथा बिहानै अपरचित मानिसहरुले सो निवासबाट रकम र बहुमूल्य धातुहरु झिकेको सूचना टिकटकमा फेला परेको थियो ।

नेपाली सेना र शसस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको उक्त घरको अनुुगमन गर्दा त्यहाँबाट लुटपाट भएको स्पष्ट देखिन्थ्यो । देउवा निवासको पहिलो तल्लाको प्यासेजको मध्य भागमा रहेको एक अण्डरग्राउण्ड खाडलबाट केही कुरा झिकेको स्पष्टै देखिन्थ्यो । माथिबाट खोल्न मिल्ने ढकनी रहेको उक्त खाडल हेर्दा खाली देखिन्थ्यो र त्यहाँबाट झिकेको बालुवा बाहिर फालेको स्पष्टै देखिन्थ्यो ।

यस्तै, उक्त निवासमा दक्षिणतर्फको चौरमा सेफ्टीट्याकींको छेउमा एउटा फुटाइएको कलर भेटिएको थियो । त्यो लकरमा के के थियो र ति कसले लगे भन्ने पनि स्पष्ट छैन । देउवा निवासको पहिलो तल्लाको पश्चिम र दक्षिणतर्फका दुुई वटा कोठा र त्यसको बीचमा रहेको स–साना दुुई वटा साना कोठा र त्यहाँ नजिकै रहेका लकर तथा फलामका दराज सबै फोडिएका थिए ।

तर, जहाँ दराज फोडिएको छ त्यहाँको भुुइामा जलेको अवस्थामा नेपाली रुपैयाँ र अमेरिकी डलर प्रशस्त मात्रामा फेला परेका थिए । दुुई वटा ठूला कोठा र दुुई वटा साना कोठामा ८० प्रतिशतसम्म जलेको झण्डै नोटहरु सयौँका संख्यामा फेला परेका थिए । फल्ससिलिङ समेत जलेर भुुइँमा झरेर ध्वस्त भएको उक्त कोठाहरुमा जलेको नोट मात्रै संकलन गरेर हिसाब निकाल्ने हो भने त्यो लाखौँ पुुग्न सक्छ ।

त्यहाँ जलेको अवस्थामा भेटिएको रकम नेपाली ५००, एक हजार र अमेरिकी डलर १०० का दरका रहेका छन् । सिधाकुराले भिडियो र फोटोमा खिचेका तस्वीरहरु अनुसार दुई वटा ५० रुपैयाँ र एउटा १०० रुपैयाँको नोट जलेको अवस्थामा फेला परेको थियो । बाँकी सबै एक हजार र ५०० का नोटहरु थिए ।

यस्तै दक्षिणतर्फको अर्को एक कोठाको बार्दलीको कुन्नापट्टी भित्ता पनि फोरेर केही वस्तु निकालीएको फेटिएको छ । ति वस्तु के थिए ? कस्ले निकाले भन्ने खुुलको छैन् । विभिन्न सामाजिक सञ्जालमा भेटिएको फोटो तथा भिडियोहरुमा देउवाको घरको सुटकेशदेखि रक्सीका बोत्तल समेत लिएर हिँडेको पाइएको थियो ।

बुढानिलकण्ठ क्षेत्रका स्थानीहरुले गरेको अनौपचारिक कुराकानी अनुसार देउवाको घरमा तीन ओटा कोठाभरी नेपाली र अमेरिकी डलर लुकाएर राखिएको थियो । यस्तै, फलामका दराज र लकरहरुमा सुन र हिरा तथा चाँदी जस्ता बहुुमूल्य धातुहरु थिए । ती सबै मंगलबार दिउँसो घर जलाउनुअघि, सोही दिन राति र बुधबार बिहान झिकिएको स्थानीयहरु बताउँछन् । बाहिर शसस्त्र प्रहरी र नेपाली सेना छन्, तर भित्र आउन जान कसैलाई रोकतोक छैन ।

ती स्थानीयले भने, ‘यो त अब सरकारको सम्पत्ति हो नी । सरकारको राजश्व लुटेर जोडेको हो नी । यो त सरकारले संरक्षण गरेर अझै खोजतलास गरेर आफ्नो ढुकुुटीमा लैजानुपर्छ ।’ अर्का एक स्थानीयले भने करोडौँ रुपैयाँ मानिसले लगेको दाबी गरे । ‘के–के लगे लगे कति लगे तर यहाँबाट आएका मानिसले धेरै कुरा लिएर गएका छन् । त्यो फिर्ता गरेर सरकारीकरण गरिनुपर्छ ।’

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार