त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयले मुलुकमा विद्यमान असामान्य परिस्थितिका कारण नियमित पठनपाठन कार्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने जनाएको छ ।
आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो । विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीले सूचना सार्वजनिक गर्दै लामो समय बिदा दिइएको जानकारी दिएकी छन् ।
यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनामा हिउँदे बिदा कटौती गरी २०८२ साल भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गते सम्पूर्ण पठनपाठन बन्द रहने उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘मुलुकभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्य उक्त मितिहरूमा बन्द रहनेछ र नियमित कक्षा कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।’ जेनजीको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण देशभरको शैक्षिक गतिविधि ठप्प भएको छ । विश्वविद्यालयले सम्बन्धित सबैलाई यो निर्णयबारे जानकारी गराएको छ ।

सत्यपाटी