आन्दोलनकारीहरुले काठमाडौं उपत्यकाका विभिन्न भवन संरचनामा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेनजीमा घुसपैठ गरेर अराजक समूहले मंगलबार आगजनी गरेको थियो । व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा लगाइएको आगो पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।
नक्सालस्थित हिल्टन होटल र भाटभटेनी सुपरमार्केटमा अझै आगो बलिरहेको छ । नक्साल भाटभटेनीमा काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ । त्यस्तै कतिपय निजी सम्पत्तिमा लगाइएको आगो पनि निभेको छैन । नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयमा अझै धुँवाको मुस्लो आइरहेको छ ।
आकाशमा धुँवा मडारिइरहेको छ । धुँवाको कारण सास फेर्न समेत समस्या भइरहेको स्थानीयहरुले जनाएका छन् । काठमाडौं महानगरपालिकाले हिजो बेलुकादेखि ६ वटा दमकल खटाएको छ । ती दमकलले अहिले पनि विभिन्न स्थानमा आगो निभाइरहेका छन् ।
हिल्टन, टङगाल भाटभटेनी, सिंहदरबार, सर्वोच्च अदालत, पुरातत्व विभाग, थापाथली डाटा सेन्टर, जिल्ला अदालत, अख्तियार दुरुपयोेग अनुसन्धान आयोग, न्युरोडमा व्यक्तिको घरमा लागेको आगो निभाएको नगरप्रहरीका एसपी विष्णु जोशीले बताए । हिल्टन र भाटभटेनी लगायतको ठाउँमा पटक–पटक आगो निभाउन जानुपरेको उनले बताए ।
उनले भने, ‘केमिकलका कारणले निभाइसकेको आगो पनि फेरि लागिरहेको छ । पटक पटक गएको गयै छौं । एकैठाउँमा धेरैपटक आगो निभाउन जानुपरिरहेको छ । सबै निभायो फेरि सल्किहाल्छ ।’ जोशीका अनुसार ठूला भवनहरुमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अहिलेसम्म पानीको अभाव नभएको उनले बताए । साथै सेनासँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए ।
