जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । राष्ट्रपति कार्यालय शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ ।
यी स्थानमा राति १० बजेसम्म कर्फ्यू लगाइएको छ । यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिसकेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ । कर्फ्यू जारी गरिएका क्षेत्रमा अहिले सुरक्षाका निम्ति नेपाली सेनालाई खटाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार कर्फ्यू जारी गरिएका क्षेत्रमा सेना परिचालन भइसकेको छ ।
जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि चार किल्ला कायम गरी कर्फ्यू आदेश जारी भएको थियो । ती क्षेत्रमा सेनाको टोलीले अब सुरक्षा निगरानी बढाउनेछ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।
यसबीच जेनजीको घेरामा रहेका सशस्त्र लिन सशस्त्रकै अन्य तीनवटा गाडीसहित सुरक्षा फौज पुगेको छ । प्रदर्शनकारीले नयाँबानेश्वरस्थित थापा गाउँमा सशस्त्रको एउटा गाडी घेरा हालेर रोकेका थिए । उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिनका लागि थप पाँच वटा गाडीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनलाई साम्य बनाउने प्रयास स्वरूप प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार पनि गरेको छ ।
यस्तै लाठीचार्ज समेत भएको प्रहरी स्रोतले बतायो । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन् । निषेधित क्षेत्रमा पुगेर प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका छन् ।

