बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेले जनाएको छ ।
हानका उपाध्यक्ष केशव न्यौपानेले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिनसके होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खड्काले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताए ।
उनले अब पर्यटकको बसाइ लम्ब्याउने उपायतिर सरकारीस्तरबाट पनि पहल जरुरी रहेको बताए । ‘अहिले भारतीय पर्यटक नै बाँकेका होटल व्यवसायका लागि मुख्य आधार बनेको छ,’ उनले भने, ‘पर्यटकलाई स्थानीय प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेकाले यसमा ध्यान दिन जरुरी छ ।’
अध्यक्ष खड्काले होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए । अध्यक्ष खड्काले राज्यले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गरे । उनले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको गुनासो गरे ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले स्थानीय सरकारले होटल व्यवसायको विकासका लागि सहयोगी नीति निर्माणका लागि पहल गर्ने बताए । उनले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षण गर्ने योजना अनुसार काम गरिरहेको उल्लेख गरे ।
सत्यपाटी