बाँकेमा औलोका बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा १६० जनामा औलो देखिएकोमा गत आर्थिक वर्ष २०८१–०८२ मा त्यो सङ्ख्या बढेर २४६ पुगेको थियो । जसमध्ये नरैनापुर गाउँपालिकामा मात्रै १८५ जना बिरामी छन् ।
अघिल्लो आर्थिक वर्षमा नरैनापुरमा १३२ जनामा औलो देखिएको थियो । नरैनापुरमा उच्च सङ्ख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् ।
उनले देशभरका ७५३ वटै पालिकामध्ये सबैभन्दा बढी औलो बिरामी भएको पालिका नरैनापुर गाउँपालिका भएको जनाउँदै पालिकामा औलोविरुद्धको सचेतना प्रवर्धनसँगै झुल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि गरिँदै आएको बताइन् ।
नरैनापुरमा औलो रोग नियन्त्रणका लागि सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्मद शाहले बताए । उनले जुन वडाहरूमा समस्या देखिएको छ ती वडाहरुमा औलो रोग नियन्त्रणका लागि आफूले पनि पूरै समय दिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपाल सरकारले सन् २०३० सम्म देशलाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखे पनि बाँकेमा जोखिम कायमै छ । बाँके जिल्लामा वर्षेनी बिरामी बढ्दै गएकोले औलोको उच्च जोखिम कायमै छ ।
जिल्लाको नरैनापुर गाउँपालिकामा देशमै सबैभन्दा धेरै औलो देखिएको पालिका बनेको छ । पछिल्लो समय रोजगारीका लागि भारतको मुम्बई पुगेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय किशोर अमजत खाँ घर फर्केपछि बिरामी भएका थिए ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेकजाँच गराउँदा औलो देखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजीवीका विभिन्न जातबाट हुने गर्दछ ।
प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरिया, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरूवाट यो रोग लाग्ने गर्दछ । साधारणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजीवी पाइन्छ ।
