२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

के छ तीजको धार्मिक महत्त्व र विश्वास ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

आज हिन्दु महिलाहरूले हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । यो पवित्र दिनमा देशभरका शिवालयहरू, विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्छ । भक्तजनहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ ।

शास्त्रहरूमा उल्लेख भए अनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका व्रत बस्दा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ । विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्दै यो व्रत बस्ने परम्परा छ । यद्यपि, शास्त्रीय मान्यताले पुरुषहरूले पनि यो व्रत बस्न सक्ने उल्लेख गरेको छ ।

हरितालिका शब्दको उत्पत्ति संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दहरूबाट भएको मानिन्छ । यो नाम पार्वतीलाई उनको साथीहरूले हरण गरेर सुरक्षित स्थानमा राखेको पौराणिक कथासँग जोडिएको छ । हरितालिका व्रतलाई निराहार (खानेकुरा नखाने), जलाहार (पानी मात्र) वा फलाहार (फलफूल मात्र) गरी तीन तरिकाले बस्न सकिन्छ । शास्त्रमा भनिएको छ, ‘सर्वतः आत्पान् गोपायेत्,’ अर्थात् जसरी भए पनि स्वास्थ्यको रक्षा गर्नुपर्छ ।

स्वास्थ्यको अवस्था हेरेर उपयुक्त व्रतको प्रकार छनोट गर्नुपर्छ । स्वास्थ्यका कारण निराहार व्रत बस्न नसक्ने व्यक्तिहरूले जल, सखरखण्ड, पिँडालु, तरुल, केरा, आँप, अम्बा, दूध वा गुरुको सल्लाह अनुसार अन्य हल्का खानेकुरा सेवन गर्न सक्छन् । स्कन्धपुराणअनुसार औषधि सेवनले व्रत भङ्ग हुँदैन । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति प्राप्त गरेकी थिइन् ।

पिता हिमालयले उनको विवाह विष्णुसँग गराउन खोजेपछि पार्वतीका साथीहरूले उनलाई लुकाएर सुरक्षित स्थानमा राखेका थिए । त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यो कथाले हरितालिका तीजको महत्त्वलाई झल्काउँछ । आजको दिन शिव–पार्वतीको पूजा र व्रत बस्ने भक्तजनहरूको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । यो पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार