२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘किरातेश्वर ढुङ्गे बगैंचा’

भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा । तस्वीर : युवराज विष्ट । रासस

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्ग लगायत भौतिक संरचना निर्माण गरिएको छ ।

यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणा अनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।

पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरी लगायतका संरचना निर्माण गरिएको छ । पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन बनेको छ । पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मत सम्भार गरिएको छ ।

पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका उनले बताए । वडाध्यक्ष माङ्गपाहाङ्गका अनुसार यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७७ लाखको लागतमा भौतिक संरचनाको विकास गरिएको छ ।

वि.सं. १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ । पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ । किरातेश्वर ढुङ्गेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताए ।

पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध रूपमा काम थालिएको र पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य छ । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह््य पर्यटकको विकासमा टेवा पुग्ने उनले बताए । पाँच वटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार