जीवनको उत्तरार्धमा पुग्दा पनि एक आमाको आँखा अझै बाटोमा नै अडिएको छ । उमेरले सय नाघिसक्दा पनि बझाङको जयपृथ्वी नगरपालिका–७, सुवेडाकी भुजीदेवी जैसी छोराको पर्खाइमै दिन काटिरहेकी छन् । तीन दशकभन्दा बढी समय बितिसक्दा पनि उनको मनमा एक मात्र चाहना बाँकी छ, मर्नुअघि छोरा गणेशराज जोशीको अनुहार देख्न पाउँ ।
२०५० माघ महिनाको कुरा हो । आफ्नी भान्जीको उपचारका लागि भारत गएका गणेशराज जोशी नयाँ दिल्लीको तिलक नगरबाट बेपत्ता भएका थिए । सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेर कक्षा ११ मा पढ्दै गरेका, उमेरले ३२ वर्षका गणेशराज जीवनको नयाँ यात्रामा थिए, तर त्यो यात्रा अचानक मोडियो ।
छोरालाई खोज्दै भुजीदेवी पटक पटक आफैँ भारत पुगिन् । दिल्लीका गल्लीहरूमा छोरा भेटिन्छ कि भन्ने आशा बोकेर उनले प्रहरीसमेतको सहयोग मागिन् तर छोराको कुनै पत्तो लागेन । छोरालाई कसैले कतै बन्धक बनाएका होलान् वा आफैँ भारतमै बसिरहेका होलान् भनी भुजीदेवीलाई मनमा लागेको छ ।
आमा भुजीदेवी भन्छिन्, ‘मेरा छोरा घर फर्कन्छन् ।’ सुवेडास्थित बेलरुख भन्ने ठाउँमा बस्ने भुजीदेवी छोरी दुर्गादेवी जोशी र नातिनातिनीको सहारामा जीवन काटिरहेकी छन् । समयले धेरै कुरा परिवर्तन गरिसकेको छ । गणेशराज हराएको ३२ वर्ष भइसकेको छ । देशमा राजनीतिक परिवर्तन भयो । पुस्ता बदलियो ।
समाज आधुनिक बन्यो तर भुजीदेवीको मन भने यतिबेला पनि छोराको बाटो पर्खाइमा छ । उनको जीवनको एउटा मात्र ध्येय छ, छोरालाई फर्केको देख्ने अथवा कम्तीमा पनि अन्तिम पटक छोराको अनुहार हेर्ने । भुजीदेवीको कथा केवल व्यक्तिगत पीडा मात्र होइन, यो आमाको अमर माया र पर्खाइको प्रतीक हो ।
सन्तानप्रतिको माया उमेर, दुरी वा परिस्थितिले कमजोर पार्दैन भन्ने यसले देखाउँछ । गाउँका धामी झाँक्रीदेखि लिएर पण्डित, ज्योतिषी र जान्नेमान्ने मानिससम्म सबैसँग उनले सोधपुछ गरिन्, तर सबैले एउटै कुरा भने, ‘तपाईंको छोरा जिउँदै छ, कहिल्यै न कहिल्यै घर अवश्य फर्कन्छ ।’ त्यही आसमा भुजीदेवी छोराको प्रतीक्षामा छन् ।
सत्यपाटी