स्वास्थ हब बन्दै गएको बाँके जिल्लामा नयाँ नयाँ अत्याधुनिक अस्पताल खुल्ने क्रम जारी रहेको छ । सोही क्रममा जिल्लाको कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा सुरु गरेको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा.दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा ल्याइएको हो ।
अस्पतालले यसक्षेत्रका महिलाहरूको स्वास्थ्यमा सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने जनाइएको छ । कोहलपुर नगरपालिका–११ मा स्थापना भएको सो अस्पतालले महिलासँगै अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरूको स्वास्थ्यमा सहज पहुँच हुने डा.विसीले बताइन् ।
उनले खासगरी महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने र अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । अस्पतालमा २४ सैं घण्टा इमरजेन्जी सेवासँगै ओपिडी, आइसियू, एनआइसियू, एचडियू, कम्प्रेन्सिभ मेटिनेटी केयर, मोर्डन अप्रेसन थियटर, आफ्नै फार्मेसी लगायतको सेवा सुविधा रहेको छ ।
सो अस्पतालमा डा.विसीसँगै युरोलोजिस्ट डा.नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.प्रतिक कार्की, ग्यास्ट्रोइन्टेरोलोजी सर्जन डा.प्रदीप थापा, बालरोग विशेषज्ञ डा.विवेक शाह र डा.सन्जय रिसाल लगायतले सेवा दिनेछन् । कोहलपुरमा अत्याधुनिक एच एन्ड एच अस्पताल खुलेसँगै स्वास्थ्य क्षेत्रमा नागरिकहरूले थप सहज सेवा पाउने विश्वास गरिएको छ ।
सत्यपाटी