२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

सरकारले बढायो धानको समर्थन मूल्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १ गते आइतबार

सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टलमा ४७ रुपैयाँ ७१ पैसा र मोटा धानको समर्थन मूल्य ५३ रुपैयाँ ३० पैसाले बढाएको हो । मध्यम धानको समर्थन मूल्य तीन हजार ६२८ रुपैयाँ ३३ पैसा र मोटा धानको समर्थन मूल्य तीन हजार ४६३ रुपैयाँ ८१ पैसा प्रतिक्विन्टल कायम भएको छ ।

कृषिमा बढेको लागत र कृषकको सल्लाह अनुसार बजार मूल्यवृद्धिलाई आधार मानेर धानको समर्थन मूल्य तोकिएको हो । गत वर्ष असारको अन्तिम साता धानको समर्थन मूल्य तोकिएको थियो । आव ०८१–०८२ का लागि मोटा धानको २१२.६२ रुपैयाँ र मध्यम धानको २१८.५१ रुपैयाँ प्रतिक्विन्टलका दरले बढाइएको थियो ।

त्यसअघि आव २०८०–०८१ का लागि सरकारले मोटा धानमा २३१ र मध्यम धानमा २३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको थियो । दुई वर्षअघिदेखि सरकारले रोपाइँकै समयमा धानको समर्थन मूल्य तोक्न सुरु गरेको हो । यस वर्ष भने रोपाइँ लगभग सकिन लागेपछि समर्थन मूल्य तोकिएको हो । यो वर्षको धान रोपाइँ सकिएको छ ।

साउन अन्तिम सातासम्ममा ९८.१९ प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २७ साउनसम्ममा १२ लाख ५४ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । मन्त्रालयका अनुसार सदूरपश्चिममा सतप्रतिशत रोपाइँ सकिएको छ ।

बागमती र कर्णालीमा ९९ प्रतिशत, कोशी र लुम्बिनीमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । मधेश र गण्डकीमा भने हालसम्म ९७ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । मधेशमा ढिला गरी वर्षाको पानी पर्दा रोपाइँ प्रभावित भएको हो । मधेश सबैभन्दा बढी धान रोपाइँ हुने क्षेत्रफल भएको प्रदेश हो । कर्णाली सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्रफल भएको प्रदेश हो ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार