२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

विद्युत प्राधिकरणबाट कुलमान बाहिरिएसँगै नाफामा ‘ब्रेक’, साढे एक अर्ब रुपैयाँ घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १ गते आइतबार

नेपाल विद्युत प्राधिकरणको नाफा पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा झण्डै साढे एक अर्ब रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०८१–०८२ मा प्राधिकरणले ९ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब ४६ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१–०८२ मा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले कमी हो । २०७२–०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँको खुद नोक्सानी व्यहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा आएको थियो ।

तर, यस वर्ष गिरावट आएको छ । यद्यपि, प्राधिकरणको कुल सम्पत्ति भने ६.२ प्रतिशतले वृद्धि भई २०८१–०८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । औसत संकलन अवधि सरकारी अनुदान, सडक बत्ति अनुदान तथा ट्रंकलाइन बक्यौता बाहेक ४५.८४ दिन रहेको छ । यसले ग्राहकहरूसँगको भुक्तानी असुलीमा सुधार देखिएको संकेत गर्छ ।

यस वर्ष प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका झण्डै २० लाख ७३ हजार ५१४ उपभोक्तालाई कुल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत निःशुल्क उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो कदम उल्लेखनीय मानिएको छ । जुन अघिल्लो वर्षदेखि नै निरन्तर थियो ।

प्राधिकरणका अनुसार विद्युतको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ४४ पैसा रहेको छ । अनलाइन भुक्तानीमार्फत प्राधिकरणले अघिल्लो वर्ष २७ अर्ब ४४ करोड रुपैयाँ संकलन गरेकोमा यस आर्थिक वर्षमा त्यो रकम बढेर ३४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसले भने प्राधिकरणको सेवा डिजिटल माध्यमबाट प्रभावकारी बन्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार