२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

अष्टिम्की पर्वमा हराउँदै परम्परागत लोककला

थारू समुदायले मनाउने श्रीकृष्ण जन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो ।

परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङ प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताए ।

‘पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो,’ उनले भने, ‘कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाले चित्र बनाउँथे ।’

उनका अनुसार कुनै गाउँमा बरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो ।

‘अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ तर परम्परागत शैली परिवर्तन भएको छ,’ शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भने, ‘पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका आधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।’

बैठक कोठामा अष्टिम्कीमा मानव जातिले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप आकर्षक चित्रका माध्यमबाट देखाउने गरी कोर्ने परम्परा रहेको थारू सामाजिक अभियन्ता हबलदार चौधरीले बताए ।

‘ब्रह्ममुहूर्तमा दर खाएपछि घरमा रहेको बह्री (बैठक) कोठमा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोकचित्रहरू बनाउने गर्छन्,’ उनले भने, ‘चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रूखमा बसेका बाँदर, गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, ऊट, कुखुरा, मयूर, बिच्छी, वासुकी नाग लगायत जलचर र थलचर प्राणीका चित्र बनाउने गरिन्छ ।’

यी चित्रहरू अन्न राख्ने भाँडो र भित्तामा बनाउने गरिएको चौधरीले जानकारी दिए । उनका अनुसार चित्र बनाउने व्यक्तिलाई बीच भागमा डोलेसहित डोलीको चित्रका माध्यमले देखाउने गरिन्छ । हाल यस्ता चित्र बनाएर अष्टिम्की पर्व मनाउने चलन कम भएको चौधरीले बताए ।

‘अधिकांश गाउँमा अष्टिम्कीमा चित्र कोर्ने चलन हराइसकेको छ,’ उनले भने, ‘केही गाउँमा मात्रै जीवित छ, थारू संस्कृति र पहिचानसँग जोडिएको यो लोककला जीवन्त राख्नका लागि थारू अगुवाहरूले पुस्तान्तरणमा जोड दिनुपर्छ ।’ अहिले कला, संस्कृति पुस्तान्तरण नहुँदा बजारबाट पोष्टर ल्याएर घरका भित्तामा टाँस्ने र पूजा गर्ने चलन बढ्दै गएको उनको भनाइ छ ।

‘सिलौटामा पिँधेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाएर रङमा डुबाई चित्र बनाउने गरिन्थ्यो,’ थारू समाजसेवी रेवन चौधरीले भने, ‘त्यसपछि बजारमा पाइने आधुनिक रङमा कुचीको प्रयोग गरी चित्र बनाउने गरिन्थ्यो, हाल त्यो पनि देख्न पाइँदैन ।’

यो समुदायमा पाँच हजार वर्षदेखि चित्र बनाउने कलाको सुरुआत भएको थियो । थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाइने जनाउँदै समाजसेवी चौधरीले चित्रमा लगाइने रङको आ–आफ्नै महत्व र विशेषता रहेको बताए ।

उनका अनुसार कालो रङ शून्यताको प्रतीक, रातो जीवनको उमङ्ग, हरियो धैर्यको प्रतीक, पहेलो रङ बुद्धिमताको, खयर शरीरको संवेगात्मक अवस्थाको र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रूपमा लिने गरिएको छ ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गरेपछि महिलाले निराहार व्रत बसी परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने परम्परा रहेको दानसिंह दहितले जानकारी दिए । ‘घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा भएर पूजाका गतिविधिका सहभागी हुन्छन्,’ उनले भने, ‘व्रतालु महिलाले चोखो गरी पकाएका खाना र फलफूल प्रसादका रूपमा सबैले ग्रहण गर्दछन् ।’

अष्टिम्कीको रातभर जाग्राम बसी घरका सबैले श्रीकृष्णको परम्परागत लोकभाखामा गीत गाउने र नाच्ने गर्छन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी चालमसहितको दियो बनालेर नदी वा तलाउमा विसर्जन गरी स्नान गरेर परिवारका सबै सदस्य घर फर्कछन् । घरमा बनाइएका पकवान ईश्वरलाई चढाई व्रतालु महिलाले भोजन ग्रहण गर्छन् ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार