पूर्वी पाल्पाको रामपुर नगरपालिकाका एक बालक उपचारको अभावमा फलामको खोरमा थुनिन बाध्य बनेका छन् । जिल्लाको रामपुर–६, तिलकपुरका १० वर्षिय बालक पवन कुमाललाई बिहानदेखि साँझसम्म फलामे खोरमा थुनेर राख्ने गरिएको छ ।
जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त पवन एक वर्षदेखि दिनभर फलामे खोरमा थुनिँदै आएका हुन् । बुवा कृष्णबहादुर र आमा पूर्णमाया कुमालका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन् ।
कान्छो पविन घरनजिकैको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । आमा पूर्णामायाबाट जन्मिएको कान्छो छोरालाई विद्यालय पठाउँदै गर्दा अर्को छोरालाई बाध्यताले दिनभर खोरमा राख्नु परेको बताउछिन् ।
पवनलाई एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गता सम्बन्धी उपचार गर्न अस्पताल समेत लगिएको थियो । केही समय लगत्तै उनमा एक्कासि मुटुमा समस्या देखिएपछि मुटुको शल्यक्रिया समेत गरियो तर चिकित्सकले मस्तिष्कको समेत शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
आमा पुर्णमायाका अनुसार मस्तिष्कको शल्यक्रियाका लागि अनुमानित सात लाख रुपैयाँ खर्च लाग्ने भएपछि आर्थिक अवस्थाका कारण उपचार गर्न नसकिएको परिवारको भनाइ छ । बुबा कृष्णबहादुर अहिले वैदेशिक रोजगारीका क्रममा खाडीमा छन् । तर, उपचारको लागि पर्याप्त रकमको जोहो नहुँदा उपचारमा भने समस्या हुँदै आएको छ ।
सत्यपाटी