२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

सिक्टा सिँचाइ आयोजना, ‘२० वर्षमा आधा पनि भएन काम’

बाँके जिल्लालाई अन्नको भण्डार बनाउँदै ‘हरियो बाँके’मा रूपान्तरण गर्ने लक्ष्यका साथ दुई दशकअघि सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र अवस्थामा छ । किसानको खेत–खेतमा पानी पुर्याएर कृषिमा क्रान्ति ल्याउने भन्दै आयोजना अघि बढाएको २० वर्ष पुगेको छ । तर कहिले सम्पन्न हुने टुंगो छैन ।

सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०६१–०६२ मा स्थापना भई २०६२–०६३ बाट निर्माण सुरु भएको हो, तर अहिलेसम्म आइपुग्दा जम्मा ४४.२३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवका रुपमा अघि बढाएको सिक्टा सिँचाइ आयोजना अनगिन्ती समस्या, विवाद र अनिश्चितताको भुमरीमा फसेको केही समयअघि संसदीय समितिमा ऊर्जा मन्त्रालयले नै स्वीकार गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडी सिक्टा आयोजनाको ढिलाइ कुनै एउटा कारणले मात्र नभई धेरै समस्याले अघि बढ्न नसकेको बताउँछिन् । आयोजनाले पूर्वी मूल नहरतर्फ ५३ किलोमिटरमध्ये ३७ किलोमिटर निर्माण सम्पन्न भई करिब चार हजार हेक्टरमा मात्र सिँचाइ पुगेको उनी बताउँछिन् । सिँचाइ आयोजनाको लक्ष्य ४३ हजार हेक्टर हो ।

पश्चिमतर्फ ५० किलोमिटरको मूल नहर र केही शाखा नहर निर्माण भए पनि यसबाट करिब २२ हजार हेक्टरमा सिँचाइ भइरहेको दवाडीको भनाइ छ । ‘नहरको गुणस्तर, पानी चुहावट र डिजाइनका विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको छ । आयोजनाको शाखा र उपशाखा नहरहरूको सञ्जाल निर्माणको काम अझै सुस्त छ, जसले गर्दा किसानहरूले मूल नहर बनेर पनि खेतमा पानी पाउन सकेका छैनन्,’ उनी भन्छिन् ।

सिँचाइ विभागका महानिर्देशक मित्र बराल बाँके जिल्लालाई हरियो क्षेत्र बनाउने सपना बोकेको यो आयोजना सुरुदेखि नै विवाद र चुनौतीबाट गुज्रिँदै आएको स्वीकार गर्छन् । ‘करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखेको यो आयोजनाको भौतिक प्रगति उत्साहजनक छैन,’ उनी भन्छन् ।

उनका अनुसार आयोजनाको शाखा र उपशाखा नहरहरूको सञ्जाल निर्माणको काम अझै सुस्त छ । जसले गर्दा किसानहरूले मूल नहर बनेर पनि खेतमा पानी पाउन सकेका छैनन् । सिँचाइ विभागले दिएको जानकारी अनुसार आयोजनाको कुल भौतिक प्रगति ४४.२३ रहेको छ भने वित्तीय प्रगति ४२.३३ प्रतिशत छ ।

यस्तै आयोजनाको पूर्वी मूल नहर ५३.५ किलोमिटर लक्ष्यमा ४४.९० किलोमिटर निर्माण भएको विभागले जनाएको छ । पश्चिम मूल नहर ५० किलोमिटरमा ४५.२५ किलोमिटर बनेको छ । शाखा र उपशाखा नहरतर्फ पश्चिममा २३३ किलोमिटर लक्ष्यमा ७७.५९ किलोमिटर मात्रै निर्माण भएको छ ।

आयोजनाको लागत चार गुणाले बढ्यो

आर्थिक वर्ष २०६१–०६२ मा १२ अर्ब ८० करोडको लागतमा सुरु भएको आयोजना २० वर्षमा चार गुणा बढेर ५२ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । विभागका महानिर्देशक बरालका अनुसार २० वर्षको लामो अवधिमा आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पनि पुगेको छैन ।

आयोजनाको प्रगति हेर्दा राष्ट्रिय गौरवका आयोजनाको नाममा हरेक वर्ष राज्यले लगानी गर्ने तर प्रतिफल दिन नसक्ने अवस्था छ । आयोजना सम्पन्न हुने संशोधित मिति आर्थिक वर्ष २०८९–०९० तोकिएको छ । त्यस अवधिमा पूरा भएमा आयोजनाको कुल अवधि २७ वर्ष पुग्नेछ ।

कहाँ चुक्यो सिक्टा ?

आयोजनाको ढिलाइ कुनै एउटा कारणले मात्र भएको होइन । यो प्राविधिक, प्रशासनिक, कानुनी र प्राकृतिक समस्याहरूको एक जटिल जालोमा जेलिएको सरकारले नै स्वीकार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव दवाडी विभिन्न चुनौतीका कारण आयोजना अघि बढ्न नसकेको बताउँछिन् ।

अदालती प्रक्रियाको उल्झनका कारण पनि एउटा भएको उनको भनाइ छ । आयोजनासँग सम्बन्धित मुद्दाहरू लामो समयदेखि अदालतमा विचाराधीन छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको फैसलामा भएको ढिलाइले आयोजनाको आगामी कार्ययोजना र निर्णय प्रक्रियामा प्रत्यक्ष असर पारेको दवाडी बताउँछिन् ।

मन्त्रालयका अनुसार सिक्टाको सबैभन्दा ठूलो र अनौठो चुनौती घुलनशील माटो हो । नहर निर्माण क्षेत्रको माटो पानीको सम्पर्कमा आउनेबित्तिकै घुल्ने र बग्ने प्रकृतिको छ, जसले निर्माण गरिएका संरचनाहरू बारम्बार भत्किने र भासिने गरेका छन् । यो समस्याले नहरको दिगोपनमाथि नै प्रश्न उठाएको छ ।

सिँचाइ विभागका महानिर्देशक बराल यसको समाधानका लागि घुलनशील नहुने माटो र उपकरण प्रयोग गरेर क्षति न्यूनीकरणको प्रयास गरिए पनि यो समस्या पूर्णरूपमा समाधान हुन नसकेको बताउँछन् । समयसापेक्ष जग्गा प्राप्ति सम्बन्धी ऐन तथा नियमावलीको अभावमा जग्गा अधिग्रहणको प्रक्रिया झन्झटिलो, विवादित र लामो समय लाग्दा आयोजना तीव्र गतिमा अघि बढ्न नसकेको सचिव दवाडी बताउँछिन् ।

स्थानीय स्तरमा मुआब्जाको विवाद, प्रक्रियागत ढिलाइ र सरोकारवाला निकायहरूसँग समन्वयको अभावले निर्माण कार्यलाई पटक–पटक रोकेको छ । त्यस्तै, निर्माण सामग्रीको अभावका कारण पनि काममा बाधा पुगेको मन्त्रालयको दाबी छ । आयोजनालाई चाहिने बालुवा, गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खननमा हरेक वर्ष असारदेखि कात्तिकसम्म प्रतिबन्ध लाग्ने गर्छ । यस अवधिमा काम ठप्प हुँदा आयोजनाको कार्यतालिका प्रभावित हुने गरेको छ ।

आयोजना क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ । उचित भू–उपयोग योजना नहुँदा कृषि भूमि खण्डीकरण हुन नदिन पहल भएको बताइए पनि यसको ठोस कार्यान्वयन देखिँदैन । नहरको क्षेत्रमा हुने अतिक्रमण हटाउन लामो र झन्झटिलो प्रक्रिया पार गर्नुपर्दा पनि काममा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।

ठेक्का प्रक्रियामा विवादले थप अन्योल

सिक्टा सिँचाइ आयोजनाको मूल नहर र अन्य संरचना बनाउन ठेक्का प्रक्रियामा समेत निरन्तर रुपमा विवाद हुँदै आएको छ । मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई प्याकेजमा ठेक्का लगाएको थियो । तर विवाद भयो ।

पहिलो प्याकेजमा मूल नहरबाट डुडुवा शाखा नहरमा पानी झार्न आवश्यक पर्ने करिब २५ किलोमिटर नहर निर्माणको काम १ अर्ब ३८ करोड ४५ लाख रूपैयाँमा ३६ महिनामा काम सम्पन्न गर्ने गरी हाई हिमालय आरएससी जेभी छनोट भएको थियो । आयोजनाले गरेको लागत इस्टिमेटभन्दा १ दशमलव ८१ प्रतिशत कम रकम कबोल गरेर हाई हिमालय आरएससी जेभीले ठेक्का हात पारेको थियो ।

डुडुवा शाखा नहरका दुई प्याकेज निर्माण गरी १६ हजार हेक्टर जमिनमा बाह्रैमास भरपर्दो सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ आयोजनाले दोस्रो पटक २०८१ पुस १ मा ३० दिनको म्याद दिएर टेण्डर आह्वान गरेको थियो । तर टेन्डर प्रक्रियामै आपत्ति जनाउँदै निर्माण व्यवसायीहरुले हाइड्रोपावर कम्पनीमा काम गरेको अनुभवलाई मान्यता दिएर टेन्डर प्रक्रियामा सहभागी गराउनुपर्ने माग राखेर सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी गरेका थिए ।

निर्माण व्यवसायीहरुको उजुरीपछि २०८१ माघ १ गते खोल्नुपर्ने टेन्डर झन्डै तीन हप्ता ढिलो गरी माघ २५ गते मात्र खुलाइएको थियो । निर्माण व्यवसायीहरुको माग आंशिक रुपमा माग सम्बोधन भएपछि ११ निर्माण व्यवसायी टेन्डर प्रक्रियामा सहभागी भएका थिए । तर टेण्डर प्रक्रियामा मन्त्री र कर्मचारीहरुको कमिसनको खेल भएको भन्दै थप विवाद बढ्दा ठेक्का स्वीकृत प्रक्रिया लम्बिएको थियो ।

२०७३ असार ६ मा सिक्टा सिँचाइ आयोजना र कोस्टल पप्पु जेभीबीच २०७३ असार १२ देखि काम सुरु गरी २०७५ पुस ४ सम्म पूरा गर्ने सम्झौता थियो । तर डुडुना नहर निर्माणका लागि ९८ करोड ८१ लाखमा ठेक्का सम्झौता भए पनि आयोजना र निर्माण व्यवसायी नहर निर्माणको कामलाई अलपत्र पारेर मुद्दा मामिलामा लागेपछि २०७४ चैत २८ देखि नहर निर्माणको काम ठप्प भएको थियो ।

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास, मध्यस्थता परिषद्, उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतमा दायर भएका आठ फरक–फरक मुद्दाको अन्तिम टुंगो नलाग्दा नहर निर्माणको काम अवरुद्ध भएको थियो । अहिले सिँचाई विभागको प्रयासपछि मुद्दामा सहजीकरण भएको छ ।

अर्थ मन्त्रालयबाट नेपाल सरकारकै स्रोतमा गत वर्ष करिब २ अर्ब ५० करोड बजेट उपलब्ध गराउने सुनिश्चितताका गरेसँगै २ वटा प्याकेजमा ३६ महिनामा निर्माण सम्पन्न गर्ने २०८१ पुस १ गते टेन्डर आह्वान गरिएको थियो । साढे दुई अर्बको ठेक्काका लागि मन्त्रीलाई समेत तीन प्रतिशत कमिसन दिएको भनेर खबर समेत सार्वजनिक भएका थिए ।

किसानका दुःख कहिले हट्ने ?

सिँचाइ सुविधा नहुँदा बाँकेका किसानलाई सुक्खा र खडेरीका कारण खेतीबाट लागत खर्च उठाउनै मुस्किल पर्छ । त्यसैले खेतबारी बाँझै राखेर भारतबाट खाद्यान्न किनेर उनीहरु जीविकोपार्जन गर्न बाध्य छन् ।

किसानको समस्या र पीडा बुझिदिने कर्मचारी र नेता नहुँदा धेरै दुःख पाएको सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगी बताउँछन् । सिक्टा आयोजना पश्चिम तराईको आर्थिक समृद्धिको मेरुदण्ड र राष्ट्रिय गौरवको प्रतीक हो । तर दुई दशक लामो यात्रामा यो आयोजना स्वयं राज्यको कमजोर व्यवस्थापन, नीतिगत अदूरदर्शिता र प्राविधिक असफलताको स्मारक बन्न पुगेको छ ।

स्रोत : रातोपाटी
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार