२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

मुगुमा बालविवाह कायमै, प्रसूति हुने २० बर्षमुनिका किशोरी धेरै

नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बालविवाह गरी आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० बर्षमुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ ।

आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला अस्पतालमा जम्मा २२९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ । जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ ।

आर्थिक बर्ष २०८१–०८२ सालमा मात्र जिल्ला अस्पतालमा ६४ जना पुगेका छन भने जिल्लामा मेरिस्टोप सेन्टरबाट पनि गर्भपतन गराएको देखिन्छ । २० बर्ष नपुग्दै बालविवाह गर्नुको मुख्य कारण अशिक्षित, गरिवी, जनचेतनाको कमी, सामाजिक प्रचलन, सामाजिक सञ्जालको दुरुपयोग देखिन्छ ।

जिल्ला अस्पताल मुगुकी नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला बर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० बर्षमुनि उमेरका रहेका छन् । किशोरी अवस्थामा विवाह गरी गर्भवती हुँदा स्वास्थ्य अवस्था कमजोर हुनुका साथै बालविवाह घट्नुभन्दा बढिरहेकाले यसको न्यूनिकरणका लागि आवश्यक कदम चाल्नुपर्ने सोरु गाउँपालिका वडा नं. ५ की झुपा बिष्टले बताइन् ।

मुगु जिल्लामा रहेका चारवटै स्थानीय तहमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्न महिला तथा बालबालिका शाखा छन् । जिल्लास्थित १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरुले बालविवाहविरुद्ध साझा अभियान चलाइरहेका छन् । यद्यपि यी निकायले बालविवाह न्यूनीकरणका लागि ठोस कानुनी प्रक्रिया ल्याउन सकेका छैनन् ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार