आर्थिक वर्ष २०८१–०८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्ड अनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ ।
सल्ल्यान, रुकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अग्र्यानिक भ्याली’ले सङ्कलन गरेर जर्मनी लगायत देशमा निर्यात हुँदै आएको अधिकृत थापाले बताए । कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गरिरहेको छ ।
मन्त्रालयका अनुसार प्रदेश स्थापनाकालदेखि हालसम्म रु १८ अर्ब ४७ करोड बराबरको रकम कृषि क्षेत्रमा बजेट विनियोजन भएकामा रु १४ अर्ब बराबर रकम लगानी भइसकेको छ । मन्त्रालयले आव २०८१–०८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा ७४७ वटा योजना निर्माण गरेको जानकारी दिएको छ । गत एक वर्षमा चार हजार ४४ स्याउका बिरुवा १९ हेक्टरमा र दुई हजार ८२४ ओखरका बिरुवा २५ हेक्टरमा रोपिएको छ ।
२० हजार १०० सुन्तला, १५ हजार ४०० कागती, दुई हजार ओखर र एक हजार स्याउका बिरुवा रोपिएको छ । खाद्य सुरक्षा कार्यक्रम मार्फत १० हजार स्याउ, एक हजार ९५० ओखर, तीन हजार २७० सुन्तला र दुई हजार लिचीका बिरुवा रोपिएको छन् । खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रम अन्तर्गत उन्नत जातका २१ क्विन्टल धान, २२ समावेश गरिएको छ । उक्त वर्ष २१.२९ मेट्रिक टन सागसब्जीका बीउ प्रमाणीकरण भएको थियो ।
सत्यपाटी