२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

नेपालबाट थप २०० मेगावाट बिजुली किन्दै भारत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २७ गते मंगलबार

नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।

यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले नेपाल–भारत विद्युत् व्यापारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणका अनुसार, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौता अन्तर्गत यो परिमाणको बिजुली आयात गर्न अनुमति दिएको हो । यो सम्झौता अन्तर्गत नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हरियाणालाई बिक्री हुने भएको छ । प्राधिकरणले अब हरियाणालाई ४३५ दशमलव २ मेगावाट बिजुली आपूर्ति गर्नेछ ।

यसअघिको २३५ दशमलव ५ मेगावाट मात्र विद्युत् जाने गरेकोमा त्यसमा करिब २०० मेगावाट थपिएको हो । नेपालले वर्षायाममा अतिरिक्त भएको बिजुली हरेक वर्ष जुन १५ देखि अक्टोबरसम्म भारतको बिहार र हरियाणालाई बिक्री गर्दै आएको छ । यो वर्ष थपिएको १९९ दशमलव ७ मेगावाट बिजुलीको बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारतीय रुपैयाँ) तोकिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले यो बिक्रीमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट र अन्य करहरू समावेश नभएको बताए । यसअघिदेखि नै नेपालबाट १२५ मेगावाट बिजुली कटैया, रक्सौल र रामनगरका १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहार निर्यात भइरहेको छ । नेपालले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स)को रियल टाइम र डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दै आएको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा नेपालले १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो भने बंगलादेशलाई मात्र २६ करोड ६६ लाख बराबरको बिजुली बिक्री गरेको छ । नेपालले सुक्खा याममा भने भारतबाट १२ अर्ब ९२ करोडको बिजुली आयात गरेको प्राधिकरणको तथ्यांक छ । नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय सम्झौता अनुसार नेपालले बंगलादेशलाई पनि ४० मेगावाट बिजुली निर्यात शुरू गरिसकेको छ ।

यो बिजुली ढल्केबर–मुजफ्फरपुर र बेहरामपुर–भेडामारा ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश पुग्छ । प्राधिकरणले त्रिशूली र चिलिमे आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा बिक्री गर्ने सम्झौता गरेको हो । नेपालले सन् २०२१ मा भारतको ‘डे–अहेड’ बजारमा प्रवेश पाएयता निर्यातकर्ताका रूपमा स्थापित भएको छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार