२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

‘सम्झनालाई मारे पनि पाँच वर्ष सजाय हुने हो, भाइ मार्दे’ भन्ने दिदी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु घटनामा थप एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सम्झनाकै आमाजु दिदी पूजा भट्टलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले फेला पारेको अडियोमा पूजाले आफ्नै भाइ पवनलाई ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्दै आदेश दिएकी छन् । पीडित पक्षको किटानी जाहेरीका आधारमा शुक्रबार कैलालीको धनगढी विमानस्थलबाट पूजालाई पक्राउ गरिएको हो ।

कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराका अनुसार सम्झनाका माइती पक्षले विवाहपछि दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । त्यही यातना र पारिवारिक दवावका कारण उनले ज्यान गुमाएको दाबी छ ।

यसअघि गत आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सम्झना मृत्यु घटनामा प्रहरीले श्रीमान्, ससुरा र सासूपछि अब श्रीमान् पवन भट्टलाई पक्राउ गरिसकेको जानकारी दिएका छन् । उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरी जिल्ला अदालतको आदेशमा म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार