शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको चलचित्रको व्यापार शनिवार आक्रामक देखियो । शनिवार बिहानीका शोजहरू औषत देखिए पनि मध्यान्नदेखि चलचित्र हेर्ने दर्शकको भिड बढेको थियो । काठमाडौंमात्र नभएर मोफसलका हलमा पनि शनिबार साँझका शोसम्म दर्शकको उच्च चाप देखियो ।
नेपालगन्जका हलहरूले हिन्दी फिल्मको शोज कटौती गरेर ‘मोहर’को शोज थपेका थिए । चलचित्रले पोखरा, बुटवल, चितवनमा पनि सुखद् व्यापार गरिरहेको छ । शनिबार दिनभर चलचित्रका निर्देशक ओम प्रतिक, अभिनेता पल शाह, अभिनेत्रीद्वय बेनिशा हमाल तथा नीति शाह काठमाडौंका हल पुगेका थिए । काठमाडौंको अष्टनारायण हलमा दर्शकको भिड लागेको थियो । अभिनेता पल शाहले दर्शकहरूलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए ।
दर्शकको उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको अभिनेत्रीद्वय बेनिशा र नीतिले बताइन् । आइतबार पनि चलचित्रले सुखद् व्यापार गरेको निर्माण पक्षले जनाएको छ । काठमाडौं र मोफसलका हलमा आइतबारको अकुपेन्सी पनि उच्च रहेको थियो । फिल्मका वितरक करण श्रेष्ठले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली फिल्मको व्यापारिक खडेरीलाई चिरेको जिकिर गरे ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई चुम्बनजंग शाहीले लगानी गरेका हुन् । यसैबीच, अभिनेता पल शाह आइतबार पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् । काठमाडौंका हलमा भने अभिनेत्रीद्वय बेनिशा र नीति पुगिरहेका छन् । चलचित्रको वर्ड अफ माउथ बलियो छ । यसकारण, यसले आगामी दिनमा पनि दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।
सत्यपाटी