२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

क्वाँटी किन खाने ? के छ धार्मिक तथा सांस्कृतिक महत्त्व ?

नेपालमा जनैपूर्णिमामा क्वाँटी चलन छ । अरू समयमा पनि क्वाँटी खाने गरिए पनि जनैपूर्णिमामा विशेष महत्त्व दिने गरिन्छ । पछिल्लो समय होटेलहरूमा समेत क्वाँटी पाइन्छ । क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । क्वाँटी हाम्रो परम्परागत मौलिक परिकार हो ।

चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक छ । विभिन्न थरीका गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । यस्ता गेडागुडीको मिश्रण खानुअघि यसलाई टुसा उम्रिने गरी पानीमा भिजाउने चलन छ । क्वाँटी खानाले धेरै फाइदा पुग्छ । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर हुन्छ । ज्वानो फुराएर पकाउँदा क्याल्सियम पनि पाइन्छ । युरिक एसिड भएका व्यक्तिले भने कम मात्रामा खान सकिन्छ ।

क्वाँटी किन खाने ?

‘क्वाँटी’ गेडागुडी मिश्रित एक नेपाली परम्परागत सुप हो । विशेषगरी जनै पूर्णिमाको दिन ९ प्रकारका गेडागुडी मिसाएर बनाइएको ‘क्वाँटी’ खाने चलन छ । क्वाँटीले पौष्टिकता प्रदान गर्नुका साथै स्वास्थ्य लाभ, मुटु स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । क्वाँटीमा प्रयोग हुने गेडागुडीहरू जस्तैः केराउ, मास, चना, मसुर, बोडी, राजमा, भटमास, गहत, सिमी सबैमा प्रोटिन, फाइबर, भिटामिन, आइरन जिंक आदि धेरै पाइन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्त्व

‘क्वाँटी’को धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत रहेको पाइएको छ । विशेषगरी काठमाण्डौंका नेवार समुदायमा क्वाँटी खाने प्रचलन भए पनि पछिल्लो समय अन्य समुदायले पनि यसको सेवन गर्ने चलन बढेको छ । स्वाद, स्वास्थ्य, संस्कृति र मौसम अनुसारको लाभ पाइने भएकाले शाकाहारीका लागि समेत क्वाँटी उत्तम मानिन्छ ।

कसरी बनाउने क्वाँटी ?

क्वाँटी बनाउने तरिका समुदाय अनुसार फरक–फरक हुन्छ । तर पनि काठमाडौंका स्थानीय रैथाने नेवारी समुदायले बनाउने क्वाँटीको स्वाद धेरैलाई मन पर्छ । कतिले खसीको मासु मिसाएर बनाउँछन् भने कतिले राँगाको मासु हालेर पनि पकाउँछन् । तर, सादा रूपमा बनाउँदा पनि यो निकै स्वादिष्ट र पोषिलो पनि छ । क्वाँटी अन्तर्राष्ट्रिय रूपमा चिनिएको नेपाली मौलिक सुप हो ।

क्वाँटी बनाउन चाहिने सामग्री

नौथरी मिसाएको गेडागुडी एक किलो, तोरीको तेल ४० एमएल, पिसेको अदुवा–लसुन तीन चिया चम्चा, ज्वानो एक र आधा चियाचम्चा, हरियो खुर्सानी तीन पिस, ताजा गोलभेंडा दुई पिस, बेसार एक र आधा चियाचम्चा, खुर्सानीको धुलो एक चिया चम्चा, नुन स्वाद अनुसार, मिक्स होल गरम मसला पाँच ग्राम, गरम मसला पाउडर आधा चिया चम्चा, प्याज दुई पिस, हरियो धनियाँ सानो एक मुठा, ताजा कुटेको जिरा धनियाँको पेस्ट एक चिया चम्चा, हिङ पिन्च, पानी आवश्यकता अनुसार थप्न सकिन्छ ।

क्वाँटी बनाउने विधि

गेडागुडीलाई २४ घन्टा भिजाएर राख्ने र छानेर फेरि तीन दिनसम्म जालीमा राखी उमार्ने । बिन्स स्प्राउटजस्तो राम्ररी टुसा देखिन थालेपछि क्वाँटीका लागि उत्तम हुन्छ । प्रेसरकुकर तताएर तेल हाल्ने र ज्वानो फुराएलगत्तै होल गरम मसला, चप ग्रिन चिल्ली, अदुवा–लसुन, काटेको प्याज हाली भुट्ने ।

ब्राउन कलर देखिनासाथ बेसार, हिङ, जिरा, धनियाँ, खुर्सानी पाउडर, गरम मसला पाउडर हाली चलाउने र काटेको गोलभेँडा हाली सानो आँचमा पकाउने । उम्रेको गेडागुडी हाली राम्ररी चलाई पानी आवश्यकता अनुसार हाली उमाल्ने र स्वाद अनुसार नुन हाली पकाउने । पाक्ना साथ काटेको धनियाँ हाली भुजासँग या सुपको रूपमा पनि पिउन सकिन्छ ।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार