२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालनमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २२ गते बिहीबार

सरकारले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य (सहुलियत) पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालय अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि तीन करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो । वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ । यस्तै साल्ट ट्रेडिङले पनि यस्तो पर्वलक्षित पसल सञ्चालन गर्दै आएको छ ।

सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि एक करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको छ । विभागले तीजपछिदेखि चाडपर्वलक्षित अनुगमन गर्ने जनाएको छ ।

खाद्यले १०० बढी पसल सञ्चालन गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो पसल भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ । यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर १०० बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । गत वर्षभन्दा पसल संख्या बढाउने गृहकार्य भइरहेको कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।

उनका अनुसार गत वर्ष ६६ स्थानमा सञ्चालन गरिएको थियो, अहिले भने १०० पुर्याउने लक्ष्य राखिएको छ । ‘हामी अहिले यसैको गृहकार्यमा छौँ, कहाँ–कहाँ सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ,’ आचार्यले भने । भदौ अन्तिम साता भने पनि आचार्यले पसल सञ्चालनको अन्तिम मिति भने नतोकिएको बताए ।

सामान ढुवानीका लागि टेन्डर प्रक्रिया चलिरहेको र ढुवानीकर्तासँग सम्झौता भएपछि मात्रै पसल सञ्चालनको औपचारिक घोषणा गरिने उनको भनाइ छ । ‘ढुवानीको सम्झौता नभई सामान लैजान अप्ठ्यारो हुन्छ, सम्झौतापछि हामी मिति घोषणा गर्छौँ,’ उनले भने । यस्तै साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ ।

सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘तीन चार पटक छलफल पनि भएको छ,’ उनले भने, ‘तर कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे अहिले टुङ्गो भने लागिसकेको छैन ।’ साल्ट ट्रेडिङले अघिल्लो वर्ष ३८ स्थानमा यस्तो पसल सञ्चालन गरेको थियो ।

यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) र नुन लगायतका वस्तु विशेष छुटमा बिक्री गरिँदै आएको छ । यस्तै खाद्य कम्पनी थापाथली बिक्री केन्द्रबाट खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । खाद्यले गत वर्ष खाद्यान्नमा ५ देखि १० रुपैयाँसम्म र जिउँदो खसीबोकामा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिएको थियो ।

बजार अनुगमन ‘क्यालेन्डर’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिने भएको छ । तीज पर्व सकिएलगत्तै चाडपर्व विशेष ‘अनुगमन क्यालेन्डर’ नै जारी गरेर बजारमा उपस्थिति बढाउने विभागको तयारी छ । महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार दाल, चामल, तेल, तरकारी र मासुजन्य अत्यावश्यक वस्तुमा अनुगमन केन्द्रित हुनेछ ।

हाल विभागका पाँच वटा टोलीले नियमित बजार अनुगमन गरिरहेको र वस्तुगत संघहरूसँग पनि नियमित सम्पर्कमा रहेकाले यसपटक अनुगमन चाडपर्वमा टोलीको संख्यामा ठुलो वृद्धि भने नगरिने दाहालले बताए । ‘हाम्रो निरन्तरको उपस्थितिले बजार धेरै हदसम्म स्थिर छ, विगतमा जस्तो मूल्यवृद्धिको गुनासो अहिले आएको छैन,’ उनले भने । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी)मा कडाइ गर्न अनुगमन टोली नै खटाइएको बताएको छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार