२०८३ मंसिर १० , बिहीबार 26, November 2026, Thursday

राप्ती नदीमा सधैं पुल निर्माणको आश्वासन मात्रै

राप्ती नदीको पिप्रहवाघाटमा डुङ्गामा नदी पार गर्दै स्थानीय ।

बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा स्थानीय बासिन्दाले तत्कालै पुल निर्माणको काम सुरु हुन्छ भन्ने आश्वासन पाएको पाँच दशक बितिसकेको छ ।

सरकारका मन्त्री, सांसद र राजनीतिक नेतृत्वबाट पाएको आश्वासन अहिलेसम्म पनि पुरा हुन सकेको छैन । स्थानीय बासिन्दाहरु दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उमेरले ६ दशक पुग्न लागेका राप्तीसोनारी ७ का दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि आश्वासन पाउन थालेको पाँच दशक पुग्न थाल्यो ।

यो बिचमा पटक–पटक डुङ्गा दुर्घटना भई स्थानीयले ज्यान गुमाएको घटना आफ्नै अगाडी देखेका छन् । पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरि डुङ्गा दुर्घटना भएको थियो । करिब १०० जना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको पाण्डेले स्मरण गरे ।

‘नजिकै पुल नभएपछि ज्यान जोखिममा भए पनि डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ,’ स्थानीयबासी पाण्डेले भने, ‘सरकारबाट अहिलेसम्म आश्वासन बाहेक अरु केही पाउन सकेका छैनौं ।’ यो ठाउँमा २०५० सालतिर पनि डुङ्गा दुर्घटना भएको धेरैले सम्झेका छन् । गत वर्ष शुक्रबारे मेलामा जाने क्रममा डुङ्गा दुर्घटना भए पनि नदीमा पानी कम भएकाले मानवीय क्षति हुन नपाएको राप्तीसोनारी–७ का रसुद महमुद साईले बताए ।

राप्ती नदीमा पुल भएको स्थान सिधनियाबाट भन्दा दक्षिणतर्फ पिप्रहवासहित बालेपुरवा र सत्तीघाटमा समेत डुङ्गामार्फत आवागमन हुने गरेको छ । राप्तीसोनारी र नरैनापुरका किसानको डुडुवातर्फ खेती भएकाले अधिकाँशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले मानिसहरु डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार