चितवन राष्ट्रिय निकुञ्जमा रहेका चार हात्तीले छावा जन्माएका छन् । विसं २०८१ चैतदेखि यता ती हात्तीले छावा जन्माएका हुन् । निकुञ्जले सञ्चालन गरेको हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीले छावा जन्माएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार २०८१ चैत ८ गते रिमझिम कलीले दीपगज, २०८२ असार २८ गते लोकतन्त्रकलीले बेदगज, असार ३० गते तीर्थमानकलीले बिभ्रकली र साउन ७ गते तमोरकलीले रामप्रितगज जन्माएका हुन् ।
हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउने गर्दछ । खोरसोरमा अब चितवनकली गर्भवती रहेको उनले जानकारी दिए । चितवनकलीले अबको दुई तीन महिनामा छावा जन्माउने उनले बताए । अहिले खोरसोरमा रहेका छ वटा छावालाई तालिम दिइएको छ भने सात वटालाई तालिम दिन बाँकी छ ।
अहिले निकुञ्जका विभिन्न स्थानमा गरी ५८ वटा हात्ती छन् । हात्तीले बच्चा जन्माउन लामो समय लाग्ने भएकाले जन्मिएका छावालाई विशेष रूपमा हेर्ने गरिएको छ । छावाको न्वारन विधिपूर्वक गरिने गरिन्छ । प्रजनन केन्द्रमा हुर्किएर तालिम दिएपछि हात्तीलाई निकुञ्जका विभिन्न सुरक्षा पोष्टमा पठाउने गरिन्छ ।
