२०८३ जेठ १७ , आइतबार 31, May 2026, Sunday

देशभर एक अर्ब ३६ करोड युनिट बिजुली ‘गायब’, हितेन्द्र आएपछि विद्युत् चुहावट धेरै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १९ गते सोमबार

हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१–०८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको चुहावट बढेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा वितरण केन्द्रहरूको औसत विद्युत् चुहावट ९.५९ प्रतिशत रहेको थियो ।

यो तथ्यांक आर्थिक वर्ष २०८१–०८२ मा १०.७६ प्रतिशत पुगेको देखिन्छ । यो १.१७ प्रतिशत विन्दुको वृद्धि हो । तथ्याङ्क अनुसार, बागमती प्रदेशको हेटौंडा डिभिजनल वितरण कार्यालयमा चुहावट सबैभन्दा धेरै २.४५ प्रतिशत विन्दुले बढेर ७.१९ प्रतिशतबाट बढेर ९.६४ प्रतिशत पुगेको छ । बाग्मती प्रदेश कार्यालयको चुहावट भने ५.६० प्रतिशतबाट ०.९१ प्रतिशत विन्दुले बढेर ६.५१ प्रतिशत पुगेको छ ।

त्यस्तै, कोशी प्रदेशमा चुहावट ९.८७ प्रतिशतबाट २.४० प्रतिशत विन्दुले बढेर १२.२७ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेश चुहावट वृद्धिमा तेस्रो नम्बरमा छ । उक्त प्रदेशको विद्युत चुहावट ११.५ प्रतिशतबाट २.२४ प्रतिशत विन्दुले बढेर १३.७४ प्रतिशत पुगेको छ । लुम्बिनी रगण्डकी कार्यालयहरूमा पनि चुहावटको दर बढेको छ, तर यो तुलनात्मक रुपमा सामान्य छ ।

लुम्बिनी प्रदेशको विद्युत चुहावट ७.६७ प्रतिशतबाट ०.९८ प्रतिशत विन्दुले बढेर ८.६५ प्रतिशत पुगेको छ । लुम्बिनीकै नेपालगन्ज डिभिजनल कार्यालयको चुहावट भने १.५२ प्रतिशत विन्दुले बढेको छ । गण्डकी प्रदेशको विद्युत चुहावट ७.९६ प्रतिशतबाट ०.८४ प्रतिशत विन्दुले बढेर ८.८० प्रतिशत पुगेको छ । जसले यो समस्या केही स्थानमा मात्र सीमित नभई देशव्यापी रूपमा बढेको देखिन्छ ।

यद्यपि, मधेश र कर्णाली प्रदेशमा चुहावटमा क्रमशः ०.१४ प्रतिशत र ०.०५ प्रतिशत विन्दुले घटेको छ। तर, यी दुवैमा अन्य प्रदेश तथा डिभिजनल कार्यालयको भन्दा चुहावट दर बढी छ । कर्णालीमा चुहावट अघिल्लो वर्ष २१.७९ प्रतिशत रहेकोमा यो वर्ष घटेर २१.७४ प्रतिशतमा झरेको देखिन्छ । मधेशमा गत वर्षको १५.२९ प्रतिशतको चुहावट घटेर १५.१५ प्रतिशत कायम भएको छ ।

कति छ विद्युत् चुहावट ?

यो अवधिमा विद्युत् प्राधिकरणले १२ अर्ब ६४ करोड ७८ लाख युनिट बराबरको विद्युत प्राप्ति गरेको थियो । त्यसमध्ये ११ अर्ब २८ करोड ६४ लाख युनिट मात्रै बिजुली बिक्री भएको छ । यो एक अर्ब ३६ करोड १४ लाख युनिट बराबरको चुहावट हो ।

त्यसमध्ये कोशीमा २ अर्ब २० करोड ३७ लाखमध्ये २७ करोड ३ लाख युनिट, मधेशमा २ अर्ब ८२ करोडमध्ये ४२ करोड ८४ लाख युनिट, बाग्मतीमा १ अर्ब ७२ करोडमध्इे १७ करोड ७५ लाख युनिट, हेटौंडा डिभिजनमा ८२ करोड ९२ लाखमध्ये ७ करोड ९९ लाख युनिट चुहावट भएको छ ।

गण्डकीमा ८१ करोड ७ लाखमध्ये ७ करोड १३ लाख युनिट, लुम्बिनीमा १ अर्ब ८१ करोड ९१ लाखमध्ये १५ करोड ७४ लाख युनिट, नेपालगन्ज डिभिजनमा ८२ करोड २८ लाखमध्ये ८ करोड ३२ लाख युनिट, कर्णालीमा १२ करोड ९ लाखमध्ये १ करोड ६३ लाख युनिट तथा सुदुरपश्चिममा ४८ करोड ८० लाखमध्ये ७ करोड ७० लाख युनिट विद्युत् चुहावट भएको छ । बाँकी रहेको विद्युत मात्रै बिक्री भएको तथ्यांक देखिन्छ ।

नेपाल विद्युत् प्राधिकरणमा विद्युत् चुहावटमध्ये केही प्राविधिक चुहावट र गैरप्राविधिक चुहावट हुन्छन् । प्राविधिक चुहावट अन्तर्गत उत्पादन, प्रसारण र वितरणसम्बन्धी चुहावट पर्छन् । गैरप्राविधिक चुहावट अन्तर्गत विद्युत चोरी, मिटरिङमा समस्या, बिलिङ तथा संकलनमा समस्या तथा तथ्यांक व्यवस्थापन सम्बन्धी समस्या पर्छन् । यो चुहावट वर्षभरीको हो ।

तर, नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्र शाक्य नियुक्त भएर आएपछिको रिपोर्टले यस्तो अवस्था देखाएको हो । त्यसअघि र त्यसभन्दा पछि कुन दरमा चुहावट भयो भन्ने विवरण उपलब्ध भएको देखिँदैन । यद्यपि प्राधिकरणका प्रवक्ता भने राजन ढकाल भने यो तथ्यांक आधिकारिक नभएको दाबी गर्छन् । विभिन्न कार्यालयहरुबाट तथ्यांक प्राप्त हुने र त्यसको रिकन्सिलेसन गर्ने क्रममै रहेकोले आधिकारिक तथ्यांक केही दिनभित्र सार्वजनिक हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार