बागलुङको पुरानो बलेवा विमानस्थल विगत ३४ वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०२२ मा स्थापना भएको विमानस्थलले धौलागिरि क्षेत्रको पर्यटन र यातायातको सम्भावना बोकेको भएपनि नियमित उडानको अभावमा उपयोगविहीन बनेको हो ।
बागलुङ सदरमुकामदेखि १० किलोमिटर दक्षिण नारायणस्थान १४ मा रहेको बलेवा विमानस्थल पोखरा–बागलुङ राजमार्ग बनेपछि २०४८ सालपछि बन्द हुँदै आएको छ । विमानस्थल वर्षाैंदेखि उपलब्धिविहीन र निर्माण भएका संरचना पनि प्रयोग नहुँदै जीर्ण बन्दै गएको स्थानियवासी भरत पौडेलले बताए ।
विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्गको कालोपत्रे र टर्मिनल भवन मर्मत, तारजाली लगायत र अन्य संरचना निमार्णको लागि पटकपटक गरि अहिलेसम्म झण्डै नौ करोड रुपियाँ खर्च भईसकेको तथ्याङकले देखाएको छ । पछिल्लो पटक २०७८ सालमा कालोपत्रे र रङ्गरोगन सहित पूर्वाधार निमार्ण गरि चिटिक्क बनेको विमानस्थल अहिले प्रयोगविहीन भएको नारायणस्थानका स्थानीवासी योगेन्द्र पौडेलले बताए ।
पौडेलले भने, ‘नियमित उडान हुन छाडेको बागलुङ बलेवा विमानस्थल सञ्चालनमा लागि भन्दै पूर्वाधार निमार्ण गरेपनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन । सम्पुर्ण तयारी हुदा समेत नियमित उडान हुन नसक्नु चिन्ताको बिषय बनेको छ ।’ बागलुङमा हवाई सेवा नियमित संचालन नहुदा धौलागिरीका नागरिक पोखरा पुगेर सेवा लिन बाध्य छन् ।
विमानस्थल सञ्चालको लागि प्रयास भइरहेको बागलुङ नगरपालिकाका प्रवक्ता एवं बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । उनले भने, ‘सञ्चालनको लागि अन्तिम पटक पहल भइरहेको छ, सबैको सहयोग र साथ आवश्यक पर्दछ ।’ जिल्लामा विमानस्थल नियमित रुपमा सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई सहज हुनुका साथै कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसँग जोडिएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।
सत्यपाटी