२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु

हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका बेला भीरबाट लडेर नान बुढाको मृत्यु भएको छ । शनिबार (साउन १७) अदानचुली–३, माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जंगल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने ठाउँमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जंगलको भीरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताइन् ।

जंगल घरबाट गल्फागाड खोलापारि टाढाको वनमा भएकाले बुढाको शव लिन स्थानीयवासी त्यसतर्फ लागेका उनले जानकारी दिइन् । उक्त खर्कमा बुढा र उनकी श्रीमती मात्र बस्दै आएका थिए । सोही कारण आइतबार (साउन १८) बिहान मात्र परिवारले घटनाबारे जानकारी पाएको थियो । यो क्षेत्रमा यति बेला सबैका पशुचौपाया खर्कमै राख्ने गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार