२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

‘कोदो दिवस’मा मानवसेवा आश्रमलाई कोदो उपहार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित मानवसेवा आश्रमलाई कोदो उपहार दिएर ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाइएको छ । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइएको ‘कोदो दिवस’का अवसरमा मानवसेवा आश्रम रहेका ९५ जनाका लागि कोदो, कागुनोसहितका खाद्य उपहार दिएको हो ।

दिवसका अवसरमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतले दिवसले नेपालमा धान, गहुँ, मकैपछि चौथो महत्त्वपूर्ण खाद्य बालीका रूपमा रहेको कोदोजन्य बालीले आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए ।

उनले खाद्यान्न बालीको सात दशमलव नौ प्रतिशत, उत्पादनको तीन दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमशः तीन, ७८ र १० प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको बताए । सचिव रावतले कर्णालीका हुम्ला र मुगु जिल्लामा कोदो प्रथम र जुम्लामा दोस्रो खाद्य बालीका रूपमा रहेको जानकारी दिए ।

उनले प्रदेशमा खाद्य सुरक्षाका दृष्टिकोणले २८ हजार ३६५ मेट्रिकटन खाद्यान्न बचत रहेको भए पनि डोल्पा, मुगु, हुम्ला र कालीकोटमा २२ हजार ६७३ मेट्रिकटन खाद्यान्न अपुग देखिएको तथ्याङ्क प्रस्तुत गरे । मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सङ्गीता गौतमले प्रदेश सरकारले दिवसलाई मानव सेवासँग जोडेर कार्यक्रम गरेकामा धन्यवाद ज्ञापन गरिन् । ‘कोदो, कागुनो र चिनो सबै यहाँका अग्र्यानिक अनाज हुन् । यसले आश्रित मानवहरूको पौष्टिक आहारमा सहयोग पुग्ने आशा गरेको छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार