बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ ।
खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहले भने, ‘विगतमा नियमित बजेट विनियोजन हुँदै आएका योजनामा यसपटक बजेट कटौती भएपछि कसरी अगाडी बढाउने भन्ने नयाँ चिन्ता थपिएको छ ।’
सङ्घीय सशर्तका सबै योजनामा बजेट बिनियोजन नै गरिएको छैन । सङ्घीय बजेट रोकिएका योजनाहरु मध्ये कतिपय सम्पन्न हुने अवस्थामा भएपनि बजेट कटौंती परेपनि छिटोभन्दा छिटो आमनागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकेलिने देखिएको छ ।
खानेपानी तथा सरसफाई कार्यालयका वरिष्ठ अधिकृत शाहका अनुसार सीतापुर खानेपानी आयोजना, उढरापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
यसैगरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहिरिया, बनकटुवा सुधार बिस्तार लगायतका आयोजनाको पनि बजेट कटौती भएको छ । बाँकेका चालु आवमा प्रदेश सरकार अन्तर्गत ४४ वटा आयोजना निर्माण भईरहेका छन् । ती मध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ ।
कार्यालयले गत आव २०८१–०८२ सम्म करिब २० हजार घरधुरीमा आयोजना अन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ । बाँकेमा आव २०७५–०७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तिव्रता आएको हो ।
सत्यपाटी