ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ । मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउँछिन् ।
‘अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन,’ उनी भन्छिन्, ‘सानो वर्षा त भइरहेकै छ ।’ गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक लगायत स्थानमा पनि वर्षा भइरहेको उनले जानकारी दिइन् ।
‘अगष्टको पहिलो साता भने ठूलै वर्षा हुने देखिएको छ,’ मौसमविद् मानन्धर भन्छिन् । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।
