२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday
भेरी अस्पतालका गौरवपूर्ण १३५ वर्ष

गरिब र निमुखा बिरामीहरुको भरोसा ‘भेरी अस्पताल’

गौरवपूर्ण १३५ बर्ष पुगेको भेरी अस्पतालले वार्षिक एक लाख बढीलाई सेवा दिने गर्दछ । भेरी अस्पतालमा सेवा थपिँदै जाँदा बिरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता कम हुँदै गएको छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १२ गते सोमबार

नेपालगन्जको भेरी अस्पताल पश्चिम नेपालको रिफरल सेन्टरको रुपमा रहेको छ । विगतमा क्षेत्रगत संरचना हुँदा मध्य र सुदूरपश्चिमका २४ जिल्लाको रिफरल सेन्टर रहेको यो अस्पतालको महत्व अहिले पनि उत्तिकै छ । अञ्चल अस्पताल भए पनि क्षेत्रीय अस्पतालबाट विरामी रिफर हुने भेरीमा भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त छैनन् । पश्चिम नेपालका तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका २४ जिल्लाका बिरामीहरु रेफर भएर उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुग्ने गरेका छन् ।

पछिल्ला दिनहरुमा दैनिक ७००–८०० सय बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्छन् । जीर्ण भौतिक संरचना जनशक्तिको अभावका बाबजुद पनि भेरी अस्पतालले बिरामीहरुलाई उत्कृष्ट उपचार सेवा दिँदै आएको छ । देशकै जेठोमध्येको यो अस्पतालमा विस्तारै सही सेवा सुविधा बढिरहेको छ । गौरवपूर्ण १३५ बर्ष पुगेको भेरी अस्पतालले वार्षिक एक लाख बढीलाई सेवा दिने गर्दछ । गरिव, निमुखा जनताको भरोसाको केन्द्र भेरी अस्पताल बनेको छ । भेरी अस्पतालमा जनरल सेवासँगै क्याथ ल्याब, न्यूरो सर्जरी,, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, यूरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमिया उपचार सेवा उपलब्ध छन् ।

यी सेवाहरु सहजरुपमा प्रवाह गर्न भौतिक संरचना अझै पर्याप्त छैनन्, जनशक्तिको चरम अभाव छ । सुरक्षाको प्रत्याभूति हुन सकिरहेको छैन । अब ५०० बेडको अस्पताल सञ्चालनको लागि संगठन तथा व्यवस्थापन सर्वेको कार्य छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने देखिएको छ भने विस्तारित न्याम्सको परिकल्पना अनुसार अस्पतालमा यसै वर्षदेखि एमडी एमएस र नर्सिङ सम्बन्धी पठनपाठन सुरु भएको छ । सरकारले समयमा बीमावापतको रकम भुक्तानी समयमै नगर्दा भएको समस्या अहिले पनि उस्तै छ । भेरी अस्पतालमा सेवा थपिँदै जाँदा बिरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता कम हुँदै गएको छ । भेरी अस्पतालबाट राज्यले विभिन्न रोगको सहुलियत उपचारको सेवा पनि दिँदै आएको छ ।

सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क छन् । विसं १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको नेपालगन्जको भेरी अस्पताल आज सोमबार स्थापना भएको १३५ वर्ष पुग्दैछ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले आमजनताको अस्पतालप्रति बढ्दै गएको विश्वासलाई निरन्तरता दिन अस्पताल विकास समिति र प्रशासन लागिपरेको बताएका छन् । अध्यक्ष शाहले भने, ‘अस्पतालमा दैनिक आउने बिरामीको सेवा सुविधासँगै बिरामीको उपचारका लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तारको पहल भइरहेको छ ।’ भेरी अस्पतालमा कोभिड–१९ पछि बिरामीको चाप अत्यधिक बढ्न थालेको हो । यहाँ आउने बिरामीको सङ्ख्या दिनप्रतिदन बढ्दो क्रममा रहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नीराजन सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख छ हजार ६९० जना बिरामीले बहिरङ्ग उपचार सेवा प्राप्त गरेका छन् । आव २०८०–०८१ मा एक लाख ६२ हजार ७९८ जनाले बहिरङ्ग उपचार सेवा प्राप्त गरेकोमा गत वर्ष सेवाग्राहीको सङ्ख्या अधिक भएको हो । अस्पतालमा बहिरङ्ग सेवाका लागि आउने बिरामीले चिकित्सकको परीक्षणपछि अस्पतालबाट विभिन्न सेवा लिने गरेका छन् । अस्पतालको प्रारम्भिक तथ्याङ्क अनुसार भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्युरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रियासमेत यहाँ हुँदै आएको छ ।

यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तर प्रदेशबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष शाहले भेरीमा बढ्दो बिरामीको चापलाई हेरेर थप भौतिक पूर्वाधारसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको बताए । सात शैय्याबाट सुरु भएको यो अस्पताललाई ५०० शैय्याको बनाउने योजनासहित कामलाई अघि बढाइएको अस्पतालले दाबी गरेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ ।

विशिष्टीकृत सेवामा फड्को

नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । अस्पताल स्थापना भएको १३५ वर्ष पुगिसक्दा अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिरहेको हो । अस्पतालले वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अङ्ग (मिर्गौला) प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगका बिरामीहरु धेरै खर्च गरेर काठमाडौँ तथा भारततिर धाउनु नपर्ने भएको छ ।

‘हामी आम नागरिकलाई गुणस्तरीय र विशिष्टकृत स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर गम्भीर छौँ, हाम्रो सम्पूर्ण शक्ति आम नागरिकले सहज र सरल रुपमा सम्पूर्ण स्वास्थ्य सेवा पाउनुपर्छ भनेर चिन्तित छौँ,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भने । उनले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नयाँ नयाँ सेवाहरु थप गर्दै लगेको बताए । उनले भने, ‘वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ, अब यस क्षेत्रका मृगौला रोगीले धेरै रकम खर्च गरेर काठमाडौँ या भारततिर धाउन पर्दैन ।’

मेसु सुवेदीका अनुसार अस्पतालमा सेवाहरु थप गर्ने क्रम जारी रहेको र विशिष्टीकृत सेवाहरु थप गर्दै जाने योजना अनुसार काम भइरहेको छ । ‘केही समयअघि मात्र सिकलसेल एनिमिया बिरामीहरुको उपचारका लागि ६ शैय्याको सिकलसेल डे केयर वार्ड र १० शय्याको सिकलसेल वार्ड सञ्चालन गरेर सेवा प्रदान गरेका छौँ,’ मेसु सुवेदीले भने, ‘पहिला अस्पतालमा जलन उपचार कक्ष थिएन, जलन भएका बिरामीहरुलाई लक्षित गरेर ६ शैय्याको जलन कक्ष (वर्न वार्ड)समेत सञ्चालन गरेका छौँ ।’ उनले यसअघि सर्जिकल विङ्ग अन्तर्गत १९ शय्या सञ्चालन हुँदै आएकोमा केही समय पहिलेबाट १२ शैया थपेर ३१ शय्या पुर्याइएको मेसु सुवेदीले जानकारी दिए ।

उनका अनुसार इएनटी र युरोलोजी विभागमा १० शैय्या, सर्जिकलतर्फ १५ शैय्या र जलनलाई ६ शैय्या गरी सञ्चालनमा ल्याइएको हो । पोष्ट अप्रेटिभ वार्डतर्फ दुई शैय्या थपिएको छ भने अर्थोपेडिक्स विभागका लागि आठ र जनरल पोष्ट अप्रेटिभ विभागका लागि आठ १६ शैय्या सञ्चालनमा ल्याइएको छ । उनले यसअघि आइसियु वार्ड १० शय्याको एकै ठाउँमा सञ्चालन रहेकोमा हाल दुई शैय्या थपेर १२ शय्याको पुर्याइएको बताए । उनले भने, ‘पहिला एकै ठाउँमा १० शैय्याको आइसियु वार्ड सञ्चालन थियो, त्यसमा दुई शैय्या थप गरेर १२ पुर्यायौँ र त्यसलाई ६ शैय्या सर्जिकल आइसियु वार्ड र ६ शैय्या मेडिकल आइसियु वार्ड छुट्टाछुट्टै सञ्चालनमा ल्याएका छौँ ।’

मेसु सुवेदीले स्त्रीरोग विभागमा पोष्ट अप्रेटिभ वार्डमा ६ शैय्या मात्रै रहेकोमा पछिल्लो समय थप ६ शैय्या थपेर १२ शैय्या बनाएर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार जनरल वार्डतर्फ १२ शैय्या व्यवस्थापन गरिएको छ । मेसु सुवेदी भेरी अस्पतालमा सरुवा भएर आएको करिब १० महिना मात्र पुगेको छ । भेरी अस्पतालमा यसअघि मुटु उपचार, डायलाइसिस, ग्याष्ट्रो सर्जरी, न्युरो सर्जरी, युरो सर्जरी लगायतका विशिष्टीकृत सेवासँगै अन्य गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा भारतका विभिन्न स्थानबाट समेत दैनिक रुपमा एक हजारभन्दा बढी सेवाग्राही अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने गरेका छन् ।

भेरी अस्पतालको इतिहास

जंगबहादुर राणा युरोपबाट फर्केपछि नेपालमा केही आधुनिक कामहरू गर्न खोजेको र त्यसैको परिणाम मध्य एक हो नेपालगन्जको भेरी अस्पताल । युरोपबाट फर्केको केही समयमा १९३३ मा जङ्गबहादुरको मृत्यु भयो । उनको मृत्यु पछि राज्यको बागडोर उनको भाइखलकको हातमा प¥यो । जङ्गबहादुरका भाई बीर शम्सेरले नेपालका केही स्थानमा अस्पताल खोल्ने निर्णय गरे । तत्काल गद्दीमा बसेका पृथ्वी बिरबिक्रमलाई समेत खुसी पार्ने उद्देश्यले बि.सं.१९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नामबाट नेपालगन्जमा अस्पताल खोलियो । त्यसैको विकसित स्वरुप आजको भेरी अस्पताल हो । काठमाडौको बीर अस्पताल र नेपालगन्जको पृथ्वी विर अस्पताल डिस्पेन्सरी एकै दिन खुलेको इतिहासमा भेट्न सकिन्छ ।

त्यसै ताका इलाममा पृथ्वीचन्द्र अस्पताल खेलियो भने पाल्पा र डोटीमा पनि अस्पताल खोलिएका थिए । राणाहरुलाई खुसी पार्न त्यतिबेलाका जमिन्दार सरकारबक्स चौधरीले अस्पताल बनाउन जग्गा दिएको र २०३० ताका तत्कालिन अञ्चलाधिस रामकुमार श्रेष्ठको पहलमा औतारदेशी चैधराईनको नाममा रहेको जग्गा दान गराई अस्पतालको जग्गा थपिएको थियो । १९४७ देखि पृथ्वीविर अस्पताल डिस्पेन्सरीको नाममा चलेको अस्पताललाई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र नामाकरण गरियो । २०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी सेवा प्रसुती केन्द्रकै नाममा चलेको अस्पताललाई २०२२ सालमा भने भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको हो ।

प्रसुति सदनको २०२० सालमा महेन्द्रले उदघाटन गरेका थिए । त्यसैबेला अस्पतालको स्तरउन्नती गर्दै २० शैयाको बनाइएको थियो । तर साहित्यकार तथा इतिहासकार सनत रेग्मीले भने रत्नराज्य भन्दा पहिला इन्द्रराज्य लक्ष्मी प्रतिष्ठानको नाममा प्रसुती सदन चलाइएको दाबी गर्छन् । उनले आफ् सानोमा खेल्न जाँदा इन्द्र राज्य लक्ष्मीको नाम देखेको स्मरण गरे । नेपालमा पर्याप्त अंग्रेजी दबाई नआइसकेको त्यस बखत औषधी गर्नु कम चुनौतीको विषय थिएन । त्यसमा पनि औलो रोगको खानीकारुपमा चिनिने नेपालगन्जमा औलोसँग प्रतिरोध गर्ने थारु समुदाय बाहेक अन्यको जिवन निकै कस्तकर मानिन्थ्यो ।नेपालगन्जमा आधुनिक चिकित्सा भित्र्यउनमा डा.रघुवीर दयाल, डा.फनिन्द्र गुप्ता, डा.जगदिश सिंह, डा.तारापद शाह लगायतलाई श्रय जान्छ ।

साथै श्रीवास्तर ड्रेसर र चटर्जी दाजुभाइले चलाएको फार्मेसी पनि नेपालगन्जको आधुनिक चिकित्साका स्मरणहरु हुन् । त्यतिबेला सम्म अस्पताल १५ शैय्याको मात्र रहेको थियो । २०१४ मा नेपालगन्जमा ठुलो हैजाको महामारी फैलँदा एकजना अघोरी बाबाले गरेको ब्यवस्थापनमा सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको नेपालगन्जका पाका स्थानीबासी स्मरण गर्दछन् । अस्पतालमा रहेको १५ शैयाले नधानेपछि सल्यानी बङ्गलामा राखेर बिरामीको उपचार गरिएको बताइन्छ । २०२२ सालमा भेरी अञ्चल अस्पताल बनाइएसँगै अस्पताललाई ५० शैयाको बनाइएको थियो । त्यतिबेला मेडिकल सुपरिन्टेन्ड भन्ने पद थिएन । अस्पतालको प्रमुखलाई ‘सिभिल सर्जन’ भनिन्थ्यो ।

२०३०–३२ सालतिर डा.योगेन्द्रमान सिंह प्रधान सिभिल सर्जन बनेर आए । त्यसपछि बिस्तारै बिशेषज्ञ चिकित्सकहरूको पनि आगमन हुन थाल्यो । डा.सन्तोषमान श्रेष्ठ, डा.कपिला श्रेष्ठ, डा.शोभना श्रेष्ठ, डा.धर्मशरण मानन्धर, डा.एन्डी जोशी, डा.सुधाकर अनिल थपलिया, डा.रमानन्द सिन्हा जस्ता चिकित्सक सिभिल सर्जनहरूको अस्पताललाई आधुनिकरण गर्न ठुलो योगदान रहेको छ । २०३७ साल सुरुहुँदा सम्म भेरी अञ्चल अस्पताल रिफरल सेन्टरका रूपमा विकास भइसकेको पाइन्छ । २०३७ पछि नै आकस्मिक कक्ष, अन्तरंग विभाग, बहिरंग विभाग, एक्सरे, ल्याब गरि विविधिकरण भएको हो । त्यसैताका ओपीडी, सर्जिकल, मेडिकल, गाइनो, पेडियाट्रिक्स वार्डहरुको स्थापना भएका थिए । स्वर्गीय डा.दुर्गा प्रधान, डा.उषा शाह, डा.एम किदवाइ, डा.गोपाल श्रेष्ठ, डा माधव खनाल र डा.एन अग्रवालको आगमनले अस्पताललाई तत्कालिन मध्य र सुदूरपश्चिम सहित भारतको बहाराइच सम्मका बिरामीलाई सेवा दिन सक्ने अस्पतालका रुपमा स्थापित हुन पुग्यो ।

२०४३ सालमा १०० बेड र पछि विकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचालन भइरहेको अवस्थामा मिति २०६१ भाद्रबाट १०० शैय्याबाट बृद्धि गरि २०० शैया क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । देश संघिय संरचनामा गएपछि केही समय भेरी प्रादेशीक अस्पताल नामाकरण भई लुम्बिनी अन्तरगत राखिएको यस अस्पताललाई पछि नेपाल सरकारको निर्णय अनुसार संघ अन्तरगत राख्ने र नामाकरण भेरी अस्पताल राखिएको छ । इतिहासका बिभिन्न कालखण्डमा आरोह अवरोह पार गर्दै भेरी अस्पताल अहिले कर्णाली र सुदूरपश्चिम सहित लुम्बिनी प्रदेशको आधाभन्दा बढी जनतालाई सेवा दिने अस्पतालका रुपमा रहेको छ भने अस्पतालमा भारतबाट समेत उपचार गर्न आउने बिरामीको संख्या धेरै रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार