नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१–०८२ मा २६ देशसँग ८० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि सात अर्ब ७४ लाख रुपियाँभन्दा बढी व्यापार वृद्धि भएको छ ।
आव २०८०–०८१ मा ७२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव २०८०–०८१ को तुलनामा गत आव २०८१–०८२ मा नेपालगन्ज नाकाबाट वैदेशिक व्यापारमा सात अर्ब ७४ करोड ५४ लाख १५ हजार रुपैयाँको वृद्धि भएको बताए ।
उनले यो नाकाबाट अघिल्लो आवमा ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपैयाँको व्यापार भएकोमा गत आवमा बढेर ८० अर्ब ३८ करोड चार लाख तीन हजार रुपैयाँ पुगेको जनाए । नेपालगन्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै भन्सार प्रमुख पौडेलले अन्य २५ देशसँग पनि व्यापार भएको बताए ।
्कार्यालयका अनुसार गत आवमा ७७ अर्ब ५३ करोड आठ लाख ७२ हजार रुपैयाँ बराबरको आयात र दुई अर्ब ८४ करोड ९५ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चीन, अमेरिका, युरोपेली सङ्घ, स्विट्जरल्यान्ड, कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिङ्गापुरसहित २६ देशबाट सामान आयात भएको छ भने भारत, मलेसिया र अर्जेन्टिनामा मात्रै निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार यो नाका हुँदै भारत लगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १८ प्रकारका सामग्री निर्यात गरिँदै आएको छ । भारत र मलेसिया लगायतमा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताए ।
