सशस्त्र प्रहरीबल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरूलाई रासन, बुट र लुगाको अभाव रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सुरक्षाकर्मीहरूले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरे । काठमाडौँमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताए ।
सुरक्षाबललाई पोशाक किन्न ३ अर्ब ७ करोड चाहिने भए पनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न नसकेको गुनासो गरे । यसबारे सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
अर्यालले भने, ‘सुरक्षाकर्मीलाई रासनकै पनि कमी छ । काठमाडौँमा २०३ रुपैयाँ छ । त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खाना पुर्याउनुपर्छ । नियमावलीमा दिएको अधिकार अनुसार पोशाक किन्नुपर्दा लगभग ३ अर्ब ७ करोड आवश्यक छ ।’
उनका अनुसार जम्मा ६१ करोड १८ लाख दिइन्छ । गुणस्तरीय बुट, लुगा किन्न समस्या छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताए । उनले सुरक्षाकर्मीको मनोबल बढाउन ५०० जनाको बिमा गरेको बताए ।
