२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

मकै र कोदोबाली छाडेर केराखेती, किसानलाई मनग्य आम्दानी

सत्यपाटीसत्यपाटी । स्याङ्जा । २०८२ असार २८ गते शनिबार

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुईवटा केराका उत्पादन सुरु गरेका थिए । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थालेका हुन् ।

यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केराखेती गरिरहेका छन् । कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ । करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिकरूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताए । उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केराखेती गरेका छन् ।

गौडेलले हरिसाल र झापाली मालभोग जातका केराखेती गरेको बताए । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उनको भनाइ छ । ‘अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक एक लाख रूपैयाँ आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु,’ कृषक गौडेलले भने ।

बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केराखेती गर्न थालेका १३ वर्ष भयो । उनले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाएका छन् । तीन रोपनी आफ्नो र ६ रोपनी जग्गा भाडामा लिएर केराखेती गरिरहेको र यसबाट वार्षिक दुई लाख रूपैयाँ गरिरहेको उनले बताए । ‘यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउँछन् । हाल व्यापारीलाई प्रतिदर्जन ७०–८० रूपैयाँका दरले बिक्री गरिरहेको छु,’ न्यौपानेले भने ।

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केराखेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ । यहाँ धेरैजसोले केराखेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुबोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ । बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार