२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

ग्वार्कोमा ‘फ्लाई ओभर’ सञ्चालन हुँदै, दुर्घटनाको चिन्ता भने जिवितै

ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभर बिहीबारदेखि सञ्चालनमा आउँदैछ । फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट फ्लाई ओभरको उद्घाटन गर्ने तयारी गरिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए । उनले फ्लाई ओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थवाल (एमएससी वाल) प्रविधिमा आधारित रहेर निर्माण गरिएको जनाए ।

उनका अनुसार अग्लो टेवा पर्खाल निर्माणका लागि परम्परागत विधिबाट निर्माण हुने टेवा पर्खालको तुलनामा सस्तो पर्ने हुँदा यस्तो नयाँ प्रविधिको प्रयोग गरिएको हो । उनले भने, ‘फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थ वाल (एमएससी वाल) प्रविधिमा बनेको छ । अग्लो टेवा पर्खाल निर्माणका लागि परम्परागत विधिबाट निर्माण हुने टेवा पर्खालको तुलनामा सस्तो पर्ने हुँदा ग्वार्को फ्लाई ओभरको अप्रोच सडकमा यो प्रविधिको प्रयोग गरिएको छ ।’

सडक विभागका प्रवक्ता झाले ग्वार्को फ्लाई ओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा १७ करोड ७ लाख लागत र करिब तीन बर्ष चार महिना अवधिमा निर्माण सम्पन्न भएको पनि जानकारी गराए । फ्लाई ओभर निर्माण पश्चात इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुने र उक्त चोकमा ३५ प्रतिशत ट्राफिक व्यवस्थापन कम हुने उनको दाबी छ ।

उनले भने, ‘ग्वार्को फ्लाई ओभरको अनुमानित लागत ३१ करोड ४६ लाख र निर्माण अवधि दुई वर्ष रहेकामा निर्माण व्यवसायीबाट कबोल भएको रकम १७ करोड ७ लाखमा र अवधि करिब तीन बर्ष चार महिनामा निर्माण सम्पन्न भएको छ । फ्लाई ओभर निर्माणपश्चात रिंगरोडमा ट्राफिक निर्वाध रुपमा संचालन हुने र इमाडोल–पाटनतर्फ ट्राफिक लाइटले व्यवस्थित रुपमा संचालन हुनेछ । करिब ३५प्रतिशत ट्राफिक उक्त चोकमा रोकिनुपर्ने छैन ।’

सडक विभागका प्रवक्ता झाले नेपालमा निर्माण सम्पन्न भइसकेको पहिलो फ्लाई ओभर भएको कारण यसलाई नेपालको पहिलो फ्लाई ओभर भनेर चिनिएको भन्दै अन्य धेरै फ्लाई ओभरहरु निर्माणधिन अवस्थामा रहेको पनि बताए । फ्लाई ओभर उद्घाटनको पूर्वसन्ध्यामा उक्त सडकमार्ग प्रयोग गरिरहेका यात्रुहरुले हर्ष व्यक्त गरेका छन् । यात्राका क्रममा घन्टौं जाममा फसेको स्मरण गर्दै अब सहज यात्रा गर्न पाउने भन्दै खुशी व्यक्त गरेका हुन् ।

यात्रु ज्योति खड्काले आफूले ग्वार्को सडकको जामले मंगलबजारदेखि इमाडोल पुग्न तीन घण्टासम्म लागेको अनुभव सुनाउँदै फ्लाई ओभर निर्माणपश्चात अब त्यस्ते समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । बस स्टेसन चाहीं अलि टाढा राखिने भएका कारण यात्रुहरुलाई हिँड्न केही कठिनाइ भए पनि घण्टौंसम्म जाममा बस्नुभन्दा अहिले हिड्नै सजिलो हुने यात्रु खड्काको धारणा छ ।

उनले भनिन्, ‘फ्लाई ओभर एकदम राम्रो लाग्यो । यसैगरि दिन प्रतिदिन देशको प्रगति हुँदै जाओस् । युवाहरुले देश छाड्न नपरोस् । ग्वार्को चोकबाट बस स्टेशन अलिक अलि पर हुन्छ भन्ने सुनेको थिए । यात्रुहरुलाई हिँड्न गार्हो हुन्छ भन्ने होला तर नि घन्टौंसम्म जाममा बस्नुभन्दा हिड्नै सजिलो हुन्छ । धुँवा धुलोबाट पनि बँच्न सकिन्छ । म मंगल बजारबाट ५ बजे टेम्पो चढेको ८ बजेसम्म पनि घर नपुगेको अनुभव मसँग छ । अब चाँही त्यो समस्या हुँदैन भन्ने विश्वास लिएको छु ।’

अर्का यात्रु किशलाल महर्जनले ग्वार्को फ्लाई ओभर देख्दा राम्रो तरिकाले बनाइएको भए पनि मोड धेरै भएका कारण दुर्घटनाको जोखिम रहेको बताए । उनले भने, ‘फ्लाई ओभर’राम्रो तरिकाले बनाइएको छ । हेर्दाखेरी एकदमै राम्रो देखिएको छ तर दुर्घटना हुने सम्भावना धेरै नै देखेको छु । मोडहरु अलि धेरै भयो । त्यसैले गर्दा दुर्घटना हुने जोखिम धेरै हुन्छ ।’

त्यस्तै, हेटौंडा घर भइ ग्वार्को क्षेत्रमा विगत २० वर्षदेखि ट्याक्सी चलाउँदै आएका चालक लालबहादुर गौतम पहिला वारि क्यूमा बस्नुपर्ने पारिबाट ट्रिप पाउने तर क्रस गरेर पारी पुग्नलाई नै २० मिनेटसम्म लाग्ने समस्या भएको सुनाउँदै अब फ्लाई ओभर निर्माणपछि दुई मिनेट मात्र लाग्ने बताए । उनी भन्छन्, ‘फ्लाई ओभर’ बन्दा धेरै सहज भएको छ । जामका कारण २० मिनेट लाग्ने समयमा दुई मिनेटमा नै पुगिन्छ । घन्टौं जाममा बस्नुपर्ने समस्या हल भएको छ ।’

२० वर्षदेखि इमाडोल बस्दै आएकी यात्रु देविका कार्कीले पनि फ्लाई ओभर निर्माण भएको देखेर एकदमै खुसी लागेको प्रतिक्रिया दिइन् । ‘पहिला धेरै समस्या थियो । जाममा बस्नुपथ्र्यो अहिले पुल बन्दा सहज भएको छ । ग्वार्कोदेखि कृष्ण मन्दिरसम्मै जाममा पर्ने गथ्र्यौ दुई घण्टा जति । राम्रो कामहरु हुँदै जाओस्,’ उनले भनिन् । फ्लाई ओभर नेपालमा कहिल्यै नभएको विकासको निर्माण भएको देख्न पाउँदै आफू हर्षित भएको ६५ वर्षिया यात्रु अम्बिका केसी बताउँछिन् ।

उनी भन्छिन्, ‘म विहे गरेर इमाडोल आउँदासम्म पनि यस्तो बाटो थिएन । एकदमै गार्हो थियो । राम्रो थिएन । धेरै जाम परेकाले आधा घण्टासम्म ग्वार्कोभन्दा उता परसम्म लाइन बस्न पथ्र्यो । अब अहिले सजिलो हुने भयो । बस स्टेशन टाढा हुनुभएन, नजिक हुनुपर्छ ।’ त्यस्तै ग्वार्कोमै बस्दै आएकी अर्की यात्रु गुन्जन खत्रीले ग्वार्कोमा साँधुरो बाटो भएका कारण रोड क्रस गर्न समेत अप्ठ्यारो हुने र सवारी दुर्घटनाबाट धेरैको ज्यान गएको स्मरण गरिन् ।

अब बाटो फराकिलो र राम्रो भएसँगै बाटो काट्न सहज हुने र जामको समस्या हट्ने उनले विश्वास व्ययक्त गरिन् । ‘यस क्षेत्रमा बसेको लामो समय भयो । पहिला पहिला सडक साँगुरो थियो । धेरै मानिसहरुको दुर्घटनामा ज्यान पनि गयो । तर अहिले धेरै परिवर्तन भयो । जुनसुकै सरकारले निर्माण गरेको भए पनि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार